मुलुक निर्वाचनमा होमिइसके पनि जनमतबाट तर्सिएका केही नेताहरुले भने न्यायालयमाथि दबाब सिर्जना गर्ने हत्कण्डा छाडेका छैनन् ।
श्याम घिमिरेले अगुवाइ गरेको कांग्रेस सांसदहरुको एउटा समूह अदालतलाई दबाब दिने गरी विभिन्न गतिविधि गरिरहेको पाइएको छ । दबाबकै सिलसिलामा घिमिरेसहित कांग्रेसका केही पूर्वसांसद आज सर्वोच्च अदालत जान खोजेका थिए ।
तर उक्त कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने कांग्रेस नेताहरूको कार्यक्तम स्थगित भएको हो ।
कांग्रेसले सूचना जारी गरेर ‘विशेष कारण’ले उक्त कार्यक्रम स्थगित भएको जनाएको छ । ‘डिलेकेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०:३० बने सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ पूर्वसांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । तर, सर्वोच्चले उक्त रिटको प्रारम्भिक सुनुवाइ गरी आवश्यक कागजात झिकाएको छ । सबै पक्षको लिखित जवाफ र झिकाइएका आवश्यक कागजात प्राप्त भएपछि सर्वोच्च प्रशासनले पेसी सूचीमा चढाउने गर्दछ । तर चुनावसँग डराएका केही नेता हुल बाँधेर प्रधानन्यायाधीशलाई भेट्ने र दबाब दिने दाउमा लागेका देखिन्छन् । जबकि कुनै मुद्दाका पक्षले प्रधानन्यायाधीश वा न्यायाधीशलाई भेट्नु नै अनैतिक हुन्छ ।
प्रतिनिधि विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित ५ न्यायाधीश रहन्छन् ।