सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धका अभियोग संशोधन गर्दा महान्यायाधिवक्ताले लिएका प्रमाण खोजेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा मुद्दा दर्ता भएपछि फेला परेका प्रमाण झिकाउन सर्वोच्च अदालतले आदेश दिएको हो।
आइतबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले फेला परेका प्रमाण झिकाउन आदेश दिएको हो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘अभियोगपत्र संशोधन सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला।’
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन परेका थिए।
अभियोगपत्र अदालतमा दायर भएपछि नयाँ प्रमाण फेला परेमा सरकारी वकिलले अभियोग संशोधन गर्न सक्ने कानुनी व्यवस्था छ।