अराजक र अमर्यादित अभिव्यक्तिका लागि चर्चित दुर्गा प्रसाईमाथि कारबाही गर्न निर्वाचन आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ।
आयोगको आज दिउँसो बसेको बैठकले निर्णय गरेरै प्रसाईमाथि अनुसन्धान गर्न निर्देशन दिएको हो।
प्रसाईले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिने आयोगको निर्णय पैसाको चलखेलका आधारमा भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।
उनले मोबाइलमा केही सामग्री देखाएर आफूसँग प्रमाण रहेको दाबीसमेत गरेका थिए।
प्रसाईमाथि साइबर अपराध मुद्दामा अनुसन्धानको तयारी छ। उनी यस्ता मुद्दाका पटके अभियुक्त हुन्। प्रसाईं विगतमा पनि साइबर अपराध मुद्दामा दुईपटक पक्राउ परिसकेका छन्।
प्रसाईले भ्रमपूर्ण र मिथ्या सूचना फैलाएको कारण उनीमाथि तत्काल अनुसन्धान गरी मुद्दा चलाउन आयोगले भनेको ब्युरोका एक अधिकारीले विधिन्युजलाई जानकारी दिए।