आईसीसी टी-२० विश्वकपमा नेपालले समूह चरणका खेलमा लगातार तेस्रो हार बेहोरेको छ । योसँगै नेपालको क्वालिफायरको सम्भावना पनि सकिएको छ ।
पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भए पनि उत्कृष्ट प्रदर्शन गरेको नेपाल इटाली र वेस्ट इन्डिजसँग लज्जाजनक रुपमा प्रस्तुत भयो ।
आज भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले वेस्ट इन्डिजसँगको खेलमा ९ विकेटको पराजय हात पारेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले वेस्ट इन्डिजसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहारामा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो । ऐरीले सर्वाधिक ५८ रनको योगदान दिएका थिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए । लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११-११ रन जोडे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट लिए ।
उक्त लक्ष्य वेस्ट इन्डिजले १६ औँ ओभरमा एक मात्र विकेटको क्षतिमा भेटाइदियो । निकै संयमित भएर खेलेको वेस्ट इन्डिजले २८ बल बाँकी छँदै लक्ष्य भेटाएर जित हात पारेको हो ।
समूह चरणको खेलमा अब नेपालले स्कटल्यान्डसँग मात्र खेल्न बाँकी छ ।