काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको उच्चस्तरीय भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षाका विषयलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन्।
भेटका क्रममा मन्त्री श्रेष्ठले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित विपद्बाट सुरक्षित राख्न जोखिममा आधारित पूर्वाधार योजना, संस्थागत समन्वय र प्रभावकारी पूर्वतयारी आवश्यक रहेको औँल्याए। साथै, बहुप्रकोपीय पूर्वसूचना प्रणाली, जल तथा मौसमसम्बन्धी अनुगमन संयन्त्र, जलवायु जोखिम मूल्याङ्कन र विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतासमेत उनले प्रष्ट पार्नुभयो।
नेपालको आगामी विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत र क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीन विद्युत् उत्पादन योजना बनाउने विषयमा पनि छलफल भएको थियो। प्रसारण तथा वितरण पूर्वाधारमा लगानी विस्तार गरी ग्रिडका अवरोध हटाउने र समग्र विद्युत् प्रणालीको विश्वसनीयता बढाउन उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीको विकासलाई समान प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।
ऊर्जा सुरक्षाका लागि केवल जलविद्युत्मा मात्र निर्भर नरही सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको समेत सन्तुलित विकास गर्नुपर्ने विषयमा छलफल गर्दै मन्त्री श्रेष्ठले मौसमी विद्युत् उपलब्धताको व्यवस्थापन, ऊर्जा भण्डारण र रणनीतिक ऊर्जा मिश्रणको खाँचो औँल्याए।
भेटवार्तामा विकास साझेदारसँग छरिएका सहकार्यलाई एकीकृत गर्दै स्पष्ट लक्ष्य, संस्थागत जिम्मेवारी, वित्तीय तथा प्राविधिक सहयोगको आवश्यकता र समयसीमासहितको समन्वय संयन्त्र निर्माण गर्ने मन्त्रालयको योजनाबारे पनि जानकारी गराइएको थियो। आगामी दिनमा विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन र नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन आर्थिक तथा सञ्चालनगत स्थायित्वलाई सहकार्यका मुख्य प्राथमिकताका रूपमा अघि बढाउने समझदारी बनेको छ।