राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी वैवाहिक जीवनमा बाँधिने भएका छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै उनीहरूले आगामी मङ्सिर १० गते लगनगाँठो कस्ने तय भएको हो।

​डा. ढकालका अनुसार विराटनगर–३, दूधफारमस्थित उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ। विवाहका लागि निमन्त्रणा कार्ड छपाइदेखि अन्य आवश्यक व्यवस्थापनका कामहरू धमाधम अगाडि बढाइएको छ। विवाह समारोह भने झापाको मङ्गलबारेस्थित डाँगीका आफन्तको घरमा आयोजना हुने तय भएको छ।

​वि.सं. २०७९ को आम निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी निशा डाँगी र डा. ढकालबिचको सम्बन्ध यसअघि पनि नेपाली राजनीतिक वृत्तमा चर्चामा रहने गरेको थियो। विवाहको मिति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनीहरूलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना दिने क्रम सुरु भएको छ।