लुम्बिनी। कोषाध्यक्ष पदमा पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै लुम्बिनी विकास कोषले पूर्णता पाएको छ। कोषले पूर्णता पाएसँगै नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा पदबहालीका लागि भोलि बुधबार (मङ्सिर २ गते) लुम्बिनी आउने भएकी छन्।
सदस्य–सचिव सन्तोष पाण्डेयका अनुसार बुधबार लुम्बिनीमा उपाध्यक्ष डोल्माले औपचारिक रूपमा पदबहाली गर्ने कार्यक्रम तय भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को गत असोज ३० गते बसेको बैठकले आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, कोषका सबै पदाधिकारीले पूर्णता पाएपछि मात्र शपथ तथा पदभार ग्रहण गर्ने अडानमा रहेकाले उनको पदबहाली रोकिएको थियो।
यसअघि एक साताअघिको मन्त्रिपरिषद् बैठकले करिब ६ महिनादेखि रिक्त रहेको सदस्य–सचिव पदमा तिलोत्तमा नगरपालिकाका सन्तोष पाण्डेयलाई नियुक्त गरेको थियो। सोही बैठकले कोषको परिषद् सदस्यहरूमा रूपन्देहीका डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो।
मङ्गलबार कोषाध्यक्षमा बज्राचार्यको नियुक्ति भएसँगै कोषको कार्यसमितिले पूर्णता पाएको हो। अब कोषको नेतृत्वदायी भूमिकामा उपाध्यक्ष आनी छोइङ डोल्मा, कोषाध्यक्ष रमेश शेखर बज्राचार्य, सदस्य–सचिव सन्तोष पाण्डेय तथा परिषद् सदस्यहरू डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मी रहनेछन्।