टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित ‘हाइलेभल साइन्स पोलिसी डाइलग’ मा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण नेपाली किसानले भोगिरहेका गम्भीर समस्याहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेकी छन्।

​संवादलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नेपालका लागि जलवायु परिवर्तन केवल तापक्रम वृद्धि वा वैज्ञानिक अध्ययनको विषयमा मात्र सीमित नरहेको स्पष्ट पारिन्। उनले भनिन्, “नेपालका लागि जलवायु परिवर्तन भनेको केवल बढ्दो तापक्रम वा वैज्ञानिक अध्ययनको विषय मात्र होइन। यो किसानहरूले आफ्नो बाली गुमाउनु, परिवारहरूले प्राकृतिक विपद्को सामना गर्नु, समुदायहरूले आफ्नो घरबास गुमाउनु र हाम्रो प्राकृतिक तथा सांस्कृतिक सम्पदा क्रमशः लोप हुँदै जानुसँग जोडिएको गम्भीर विषय हो।”

​मन्त्री चौधरीले विज्ञानमा आधारित ज्ञानलाई समयमै नीति तथा व्यवहारमा रूपान्तरण गर्न आवश्यक रहेको औँल्याइन्। साथै, विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन र जलवायु परिवर्तनको उच्च जोखिममा रहेका समुदायसम्म जलवायु वित्त तथा आवश्यक सहयोग पुर्‍याउनुपर्नेमा उनले विशेष जोड दिइन्।

​विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य नेपालको जीवन, जीविकोपार्जन र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै मन्त्री चौधरीले यसका लागि तत्काल ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरिन्।