टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) का क्रममा नेपालले अतिकम विकसित राष्ट्रहरूको समूह (एलडिसी ग्रुप) सँगै सहभागी भई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उच्चस्तरीय भेटवार्ता गरेको छ।
भेटका क्रममा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका ४४ वटा राष्ट्रहरूका तर्फबाट जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिएकोमा महासचिव गुटेरेसलाई धन्यवाद व्यक्त गरिएको छ।
उक्त अवसरमा नेपालसहित एलडिसी समूहका राष्ट्रहरूले आफ्नो सामूहिक माग स्पष्ट रूपमा राखेका छन्। विशेषगरी, पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसको लक्ष्यभित्रै सुरक्षित राख्न विश्वव्यापी कार्बन उत्सर्जनमा तीव्र कटौती गर्नुपर्नेमा जोड दिइएको छ।
यसका साथै, जलवायु परिवर्तनका असरहरूसँग जुध्न (अनुकूलन) तथा जलवायुजन्य विपद्बाट हुने हानि र नोक्सानी (लस एन्ड ड्यामेज) सम्बोधन गर्न जोखिमयुक्त मुलुकहरूका लागि सहज पहुँचसहितको अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने सामूहिक माग महासचिव गुटेरेससमक्ष प्रस्तुत गरिएको छ।