​काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न आधिकारिक भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालले भारत सरकारसँग २ अर्ब अमेरिकी डलर बराबरको बृहत् आर्थिक प्याकेज माग गर्ने तयारी अगाडि बढाएको छ। भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ का अनुसार नयाँ दिल्ली भ्रमणका क्रममा प्रस्तुत गरिने उक्त प्रस्तावमा सहुलियतपूर्ण ऋण (लाइन्स अफ क्रेडिट) र अनुदान सहायता दुवै समेटिनेछन्।

​प्रस्तावित २ अर्ब डलरको सहायता प्याकेजलाई तीन मुख्य क्षेत्रमा विभाजन गरिएको छ। जसअन्तर्गत भौतिक पूर्वाधार विकास र विद्युत् प्रसारण लाइन निर्माणका लागि १ अर्ब डलर माग गर्ने तयारी छ। त्यसैगरी, देशका प्रमुख राजमार्गहरूको स्तरोन्नतिका लागि ५० करोड डलर र हालैको बाढीपछिको क्षति पुनर्निर्माणका लागि थप ५० करोड डलर सहायता प्रस्ताव गरिएको छ। प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गरी परराष्ट्र र अर्थ मन्त्रालयले यी परियोजनाहरूको खाकालाई अन्तिम रूप दिइरहेका छन्।