काठमाडौँ। बडादसैँको अवसरमा काठमाडौँ उपत्यकामा मादक पदार्थ (मापसे) तथा लागूपदार्थ (लापसे) सेवन गरी सवारीसाधन चलाउने १ हजार ३७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको १४ दिनको अवधिमा उनीहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यस अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १ हजार २ जना र लागूपदार्थ सेवन गरी सवारी चलाउने ३५ जना चालकमाथि कारबाही गरिएको छ।
दसैँ तथा चाडपर्वका बेला सार्वजनिक एवं निजी सवारीसाधनको चाप बढ्ने र मापसे तथा लापसेका कारण ठूला सडक दुर्घटनाको जोखिम रहने भएकाले उपत्यकाका मुख्य तथा सहायक सडकहरूमा चेकजाँच र निगरानीलाई कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामुक्त चाडपर्व मनाउनका लागि मापसे तथा लापसेविरुद्धको अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।