काठमाडौँ। प्रसिद्ध गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त गरेसँगै उनको नागरिकता र राष्ट्रियतालाई लिएर विभिन्न क्षेत्रमा बहस र विवाद उत्पन्न भएको छ। तिब्बती निर्वासित सरकार र दलाई लामा निकट मानिने सञ्चारमाध्यम ‘भोइस अफ तिब्बत’ ले उनी सन् १९७१ मा काठमाडौँमा निर्वासित तिब्बती परिवारमा जन्मिएकी भिक्षुणी भएको विवरण प्रसारण गरेपछि यो विषयले सामाजिक तथा राजनीतिक वृत्तमा चर्चा पाएको हो।

​उनको नियुक्तिपछि ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ लगायतका केही समूहहरूले आनी छोइङ नेपाली नागरिक नभई शरणार्थी पृष्ठभूमिकी भएको दाबी गर्दै नियुक्ति बदर गर्न माग गरिरहेका छन्। आनी आफैँले लेखेको चर्चित आत्मकथा ‘फूलको आँखामा’ मा पनि आफ्ना अभिभावक तिब्बतबाट नेपाल आएको प्रसङ्ग रहेको विषयलाई विरोधकर्ताहरूले आधार बनाएका छन्।

अर्कोतर्फ, उनका समर्थकहरूले भने उनले नेपाली साङ्गीतिक क्षेत्र, समाजसेवा र बौद्ध धर्मको विश्वव्यापी प्रचारमा पुर्‍याएको अतुलनीय योगदानको कदर हुनुपर्ने भन्दै बचाउ गरिरहेका छन्।

​आफ्नो नागरिकता र नियुक्तिलाई लिएर भइरहेको आलोचना तथा टिप्पणीहरूबारे प्रतिक्रिया दिँदै आनी छोइङ डोल्माले आफू सत्कर्ममा विश्वास गर्ने र यस्ता विवादबाट विचलित नभएको बताएकी छन्।

समाजमा हरेक कुराको आलोचना हुने प्रवृत्तितर्फ सङ्केत गर्दै उनले भगवान् बुद्ध स्वयम् उपस्थित भएको भए पनि आलोचना गर्नेहरू रहने धारणा व्यक्त गरेकी छन्। बाहिर भइरहेका प्रत्येक टिप्पणीको एक-एक गरी जवाफ दिनुको सट्टा परिस्थिति भोग्दै जाने र बुझ्नेहरूले यथार्थ बुझिसकेको भन्दै उनले आफ्नो काममा निरन्तर लागिरहने अठोट व्यक्त गरेकी छन्।