बझाङ। बझाङको बुङ्गल नगरपालिका–७ का वडाध्यक्ष टङ्क जोशीको भिरबाट लडेर असामयिक निधन भएको छ। गाउँमाथिको ‘अठपाली’ भन्ने स्थानमा खर काट्न गएका ५० वर्षीय वडाध्यक्ष जोशी भिरबाट खसेर चट्टानमा बजारिँदा गम्भीर घाइते भएका थिए।

​मृतकका आफन्त रामचन्द्र जोशीका अनुसार भिरबाट खसेर चट्टानमा बजारीएपछि उनको कानबाट अत्यधिक रगत बगेको थियो। गम्भीर घाइते जोशीको ज्यान बचाउन तत्काल हेलिकोप्टरमार्फत उद्धारको पहल गरिएको थियो। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जिल्ला प्रशासन कार्यालय बझाङ र गृह मन्त्रालयसँग समन्वय गरी खबर पाएको आधा घण्टाभित्रै हेलिकोप्टर उडाउने तयारी भइरहेको बताउनुभयो। तर, हेलिकोप्टर उड्न नपाउँदै उनको निधन भइसकेको दुःखद खबर प्राप्त भएको महरले जानकारी दिनुभएको छ।

​निधन हुनुभएका जोशी स्थानीय तहको निर्वाचनमा दुई पटक वडाध्यक्ष निर्वाचित भइसक्नुभएको थियो। उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट र २०७९ को निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट बुङ्गल–७ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उहाँको असामयिक निधनले सिङ्गो गाउँ र राजनीतिक वृत्त शोकमा डुबेको छ।