​पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित उडान सुरु भएको एक महिना पूरा भएको छ। सेप्टेम्बर २३ देखि अक्टोबर २३, २०२६ सम्मको पहिलो महिनाको अवधिमा फ्लाईदुबईका ३० वटा उडानमार्फत कुल ६ हजार ३ सय ६२ जना यात्रुले सेवा लिएका छन्। पहिलो महिनाको यो उपलब्धिलाई उत्साहजनक रूपमा हेरिएको छ।

​सार्वजनिक तथ्याङ्क अनुसार एक महिनामा दुबईबाट पोखरा आउनेतर्फ ४ हजार ५ सय २१ जना र पोखराबाट दुबई जानेतर्फ १ हजार ८ सय ४१ जना यात्रु रहेका छन्। प्रति उडान औसत १५० जना यात्रु पोखरा भित्रिने गरे पनि जाने यात्रुको सङ्ख्या औसत ६० जना मात्रै रहेकाले आउने र जाने यात्रुको सङ्ख्यामा सन्तुलन मिलाउनुपर्ने चुनौती देखिएको छ।

फ्लाईदुबईले सन् २०२७ को अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गर्दै उडानको निरन्तरता सुनिश्चित गरिसकेको छ।

​पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–दुबई हवाई सम्पर्कलाई दिगो र सफल बनाउन सम्पूर्ण नागरिक, पर्यटन व्यवसायी तथा निजी क्षेत्रलाई हातेमालो गर्न आह्वान गर्नुभएको छ।

फ्लाईदुबई र यसको साझेदार एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यसम्म यात्रा गर्न सकिने भएकाले अन्तर्राष्ट्रिय भ्रमणका लागि पोखरालाई नै प्रस्थान बिन्दु बनाउन उहाँले अनुरोध गर्नुभएको छ।

पोखराबाट जाने यात्रुको सङ्ख्या बढाउन सके विमानस्थलको प्रभावकारी उपयोग हुनुका साथै समग्र गण्डकी प्रदेशको पर्यटन, व्यापार र आर्थिक विकासमा ठूलो योग्दान पुग्ने विश्वास व्यक्त गरिएको छ।