सिन्धुपाल्चोक। नेपाल र चीन जोड्ने तातोपानी नाका कात्तिक १ गतेदेखि साताको तीन दिन मात्रै अस्थायी रूपमा सञ्चालनमा आउँदा दुई दिनको अवधिमा १० वटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्।

तातोपानी भन्सार कार्यालयका अनुसार आइतबार तीन वटा र त्यसपछिको साँझसम्म सात वटा गरी कुल १० वटा कन्टेनर भित्रिएका हुन्। भित्रिएका कन्टेनरहरूमा फलफूल, जुत्ता, तयारी पोसाक तथा कृषिजन्य सामग्रीहरू रहेका छन्।

नाका सातामा तीन दिन मात्रै खुल्ने भएकाले चाडपर्वलाई लक्षित गरी ल्याइएका व्यापारीका सामान सीमापारि नै रोकिने जोखिम बढेको भन्दै व्यवसायीहरूले यसलाई नियमित रूपमा सञ्चालन गर्न माग गरेका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दसैँ-तिहार लक्षित ४५ भन्दा बढी कन्टेनरहरू रोकिएको जानकारी दिएका छन्।

अस्थायी रूपमा ३ दिन मात्रै नाका खुल्दा ती सामान ल्याउन सम्भव नभएको र ठूलो हिस्सा फलफूल तथा मौसमी व्यापारिक सामग्री रहेकाले ती सामान बिग्रने जोखिम रहेको उनले बताएका छन्।

व्यवसायीहरूले नाकालाई निरन्तर र पूर्ण रूपमा सञ्चालन गराउन चीन सरकार तथा नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन्। भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार चीनले हाल ठूला कार्गो ट्रकहरूलाई मात्र अनुमति दिएकाले साना कन्टेनरहरू आउन नसकेका हुन्।

अन्य उत्तरी नाकाहरू सहज नभएको अवस्थामा तातोपानी नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न सके दुवै देशबीचको व्यापारिक आवागमन सहज हुने व्यवसायीहरूको भनाइ छ।