​काठमाडौँ। भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ का क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच संक्षिप्त भेटवार्ता भएको छ।

नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा जारी समिटका क्रममा दुवै नेताहरूबीच कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ।

​भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको समिटको विशेष सत्रमा अर्थमन्त्री वाग्ले अतिथिका रूपमा सहभागी भएका थिए। सोही सत्र समापन भएपश्चात् प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबीच संक्षिप्त कुराकानी भएको हो।

अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले समिटअन्तर्गत ‘निकटताबाट समृद्धिः भारत–नेपाल अवसर’ शीर्षकको सत्रलाई सम्बोधन गर्दै दुई देशबीचको आर्थिक तथा द्विपक्षीय साझेदारीबारे विचार व्यक्त गरेका छन्।

यसका साथै भारतका विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको समिटको अर्को विशेष सत्रमा पनि अर्थमन्त्री वाग्लेको उपस्थिति रहेको थियो।