काठमाडौँ। साउदी अरबस्थित साउदी अराम्कोको सायबाह तेल क्षेत्रमा प्रहार गरिएको ड्रोनलाई निष्प्रभावी पार्ने क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको निधन भएको घटनाप्रति नेपाल सरकार, परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।

मन्त्रालयले आधिकारिक वक्तव्य जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक संवेदना प्रकट गरेको छ भने घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

​वक्तव्यमार्फत नेपालले सर्वसाधारण नागरिक तथा रणनीतिक पूर्वाधारहरूलाई लक्षित गरी गरिने जुनसुकै प्रकारका आक्रमणहरूको स्पष्ट र कडा शब्दमा पुन: भर्त्सना गरेको छ।

आफ्नो सैद्धान्तिक अडानलाई दोहोर्‍याउँदै परराष्ट्र मन्त्रालयले जुनसुकै अन्तर्राष्ट्रिय विवाद र समस्याको समाधान शान्तिपूर्ण माध्यम, संवाद, वार्ता तथा कूटनीतिक पहलबाटै खोजिनुपर्नेमा निरन्तर जोड दिएको छ।