काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्रिकेट प्रशासक विनोद दास मलेसियन क्रिकेट एसोसिएसन (MCA) को मुख्य सञ्चालन अधिकृत (COO) पदमा नियुक्त भएका छन्। एमसीएले अक्टोबर २०, २०२६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै दासलाई सीओओमा नियुक्त गरिएको आधिकारिक घोषणा गरेको हो।
राष्ट्रिय टोलीका पूर्वकप्तान, प्रशिक्षक र क्रिकेट प्रशासकका रूपमा करिब ३० वर्षको अनुभव बोकेका दाससँग आईसीसी मास्टर एजुकेटरका रूपमा समेत काम गरेको लामो अनुभव छ। एमसीएमा आबद्ध हुनुअघि उनले नेपाल क्रिकेट संघ (क्यान) मा क्रिकेट अपरेसन म्यानेजरको जिम्मेवारी सम्हालेका थिए। क्यानमा रहँदा उनले आईसीसी महिला टी-२० विश्वकप क्वालिफायर, आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ तथा एसीसी पुरुष प्रिमियर कप जस्ता ठूला प्रतियोगिताहरूको टूर्नामेन्ट डाइरेक्टरका रूपमा समेत काम गरिसकेका छन्।
एमसीएका अध्यक्ष महिन्दा भल्लीपुरमले विनोद दासको आगमनले मलेसियाको राष्ट्रिय टोलीलाई थप मजबुत बनाउन र आईसीसीको विश्व वरीयतामा माथि उठाउन ठूलो सहयोग पुग्ने बताएका छन्। नवनियुक्त सीओओ दासले पनि मलेसियन क्रिकेटको नयाँ चरणमा योगदान दिन पाउँदा खुसी व्यक्त गर्दै उच्च प्रदर्शन वातावरण निर्माण र अन्तर्राष्ट्रिय वरीयतामा सुधार ल्याउन काम गर्ने प्रतिबद्धता जनाएका छन्।