काठमाडौं, २०८३ असोज २२ गते। कृषि, वन तथा पर्यावरण मन्त्री र नेपाल भ्रमणमा रहनुभएका ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम शेख खलिफाबीच आज कृषि, वन तथा पर्यावरण मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। भेटका क्रममा नेपाल र ओमानबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्दै कृषि, वन, वातावरण, रासायनिक मल आपूर्ति, व्यापार, जलवायु परिवर्तन तथा श्रम सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भयो।
भेटमा ओमानका प्रतिनिधिमण्डलका प्रमुखले नेपाल र ओमानबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै भविष्यमा नेपालमा ओमानको दूतावास स्थापना गर्ने सम्भावना तथा कोभिड-१९ महामारीअघि सञ्चालनमा रहेको प्रत्यक्ष हवाई उडान पुनः सञ्चालनको महत्त्व औँल्याउनुभयो। उहाँले ओमानमा उत्पादित ग्रिन युरिया भारतमा निर्यात भइरहेको जानकारी दिँदै नेपालमा पनि निर्यात गर्न सकिने सम्भावना व्यक्त गर्नुभयो।
मन्त्रीले नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै ओमानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। मन्त्रालयका सचिवले सरकार-सरकार (G2G) संयन्त्रमार्फत मल आपूर्तिको व्यवस्था गर्न तथा कम्पनी-कम्पनी (B2B) सम्झौतामार्फत खरिद, ढुवानी, पारवहन र लजिस्टिक व्यवस्थापनका विषयमा थप समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यस विषयमा सम्बन्धित कम्पनीहरूसँग सम्पर्क तथा छलफल अघि बढाउन सकिने कुरा भएको छ।
नेपालबाट चिया, अलैँची, ताजा तरकारी, आँप, स्याउलगायतका कृषि उपज तथा पशुजन्य उत्पादनको निर्यात प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि छलफल भयो। मन्त्रीले प्रत्यक्ष हवाई उडान पुनः सञ्चालन हुन सके कृषि उपजको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कृषि, वन तथा वातावरणका क्षेत्रमा ओमानसँग सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभयो।
जलवायु परिवर्तनका विषयमा मन्त्रीले नेपालको योगदान न्यून भए पनि यसबाट नेपालले गम्भीर असर भोगिरहेको उल्लेख गर्नुभयो। हिमाली क्षेत्रमा हिमपात हुने स्थानमा वर्षा हुने क्रम बढेको तथा हालैका बाढीजन्य विपद्ले ठूलो क्षति पुर्याएको सन्दर्भ उल्लेख गर्दै पर्वतीय कूटनीति र जलवायु परिवर्तनबाट सिर्जित हानि तथा क्षति (Loss and Damage) सम्बन्धी अन्तर्राष्ट्रिय पहलमा ओमानको सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। हालै नेपालमा आएको विनाशकारी बाढीप्रति ओमानका प्रतिनिधिले दुःख व्यक्त गर्दै ऐक्यबद्धता प्रकट गर्नुभयो।
त्यसैगरी, ओमानमा कार्यरत नेपाली श्रमिकलाई थप सीपयुक्त बनाउने, सम्मानजनक तथा सुरक्षित रोजगारीका अवसर विस्तार गर्ने र वैदेशिक रोजगार प्रक्रियालाई पारदर्शी तथा न्यायोचित बनाउने विषयमा छलफल भयो। मन्त्रीका सल्लाहकारले नेपाली श्रमिकमाथि आर्थिक भार कम गर्न अत्यधिक भर्ती शुल्क नलिने, कानुनी प्रावधान पालना गर्ने तथा श्रमिकको अधिकार र हित सुनिश्चित गर्ने नैतिक भर्ती प्रणाली अवलम्बन गर्ने रोजगारदाता तथा भर्ती कम्पनीसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
भेटघाटले नेपाल र ओमानबीच कृषि, वातावरण, रासायनिक मल आपूर्ति, कृषि व्यापार, पर्वतीय कूटनीति तथा सीपयुक्त जनशक्ति व्यवस्थापनका क्षेत्रमा पारस्परिक हितमा आधारित सहकार्य विस्तार गर्ने सम्भावनालाई थप बल पुर्याएको छ।