गत अगस्ट २६ मा चीनको तिब्बततर्फ उच्च हिमाली क्षेत्रमा भएको हिम–चट्टानको ठूलो पहिरो र त्यसपछि लेन्दे खोलामा बनेको अस्थायी अवरोध फुट्दा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले नेपालमा अभूतपूर्व मानवीय र भौतिक क्षति पुर्‍याएपछि यो विपद् अहिले विश्व सञ्चारमाध्यमको प्रमुख चासोको विषय बनेको छ। प्रारम्भिक विवरणमा सीमित देखिएको यो घटना केही दिनमै हजारौँ मानिसको ज्यान जाने, हजारौँ बेपत्ता हुने र अर्बौँ डलर बराबरको क्षति हुने राष्ट्रिय विपद्मा परिणत भएको छ। विश्व मौसम संगठन (WMO) ले समेत घटनालाई सीमापार र एकपछि अर्को जोखिम निम्त्याउने ‘cascading hazards’ को उदाहरणका रूपमा व्याख्या गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिम र प्रभावकारी पूर्वसूचना प्रणालीको आवश्यकतामाथि जोड दिएको छ।

विश्वका प्रमुख सञ्चारमाध्यमले भोटेकोशी बाढीलाई मुख्यतः तीन कोणबाट प्रस्तुत गरेका छन्, विनाशको असाधारण मानवीय मूल्य, उद्धार तथा खोजी अभियानको कठिन संघर्ष र जलवायु परिवर्तनसँग जोडिएको न्यायको प्रश्न। बीबीसी, अल जजिरा, सीएनएन, रोयटर्स, द गार्जियन, एसोसिएटेड प्रेस लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लगातार घटनाको अपडेट दिँदै मृत्यु र बेपत्ताको बढ्दो संख्या, ध्वस्त बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाहरू र अझै जारी खोजी तथा उद्धार अभियानलाई प्राथमिकताका साथ प्रसारण गरेका छन्। सुरुका दिनमा ३५९ जनाको मृत्यु र करिब एक हजार मानिस बेपत्ता भएको विवरणबाट समाचार सुरु भएको थियो। सेप्टेम्बर ४ मा रोयटर्सले उद्धृत गरेको सरकारी विवरणअनुसार मृत्यु हुनेको संख्या १ हजार २५० नाघेको र ४ हजार २०० भन्दा बढी अझै बेपत्ता छन्।

अन्तर्राष्ट्रिय रिपोर्टिङमा अर्को महत्वपूर्ण विषय नेपाल र चीनबीच हिमाली जोखिमसम्बन्धी सूचना आदानप्रदान पनि बनेको छ। बाढीको उत्पत्ति सीमापार उच्च हिमाली क्षेत्रमा भएकाले नेपालले हिमनदी, हिमताल र सम्भावित आकस्मिक बहावसम्बन्धी वास्तविक समयको तथ्यांक तथा पूर्वसूचना प्राप्त गर्नुपर्ने आवश्यकता अझ स्पष्ट भएको छ। रोयटर्सका अनुसार नेपालले चीनसँग यस्तो सूचना आदानप्रदान र संयुक्त पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्नुपर्ने विषय उठाइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विशेष ध्यान भोटेकोशी र त्रिशूली नदीको तीव्र वेगसँगै सयौँ मिटर गहिरा जलविद्युत् सुरुङमा फसेका वा बेपत्ता भएका कामदारको खोजीमा पनि केन्द्रित छ। बाढीले १२ वटा जलविद्युत् आयोजनालाई प्रत्यक्ष प्रभावित गरेको र करिब ९०० कामदार बेपत्ता रहेको विवरण सार्वजनिक भएपछि सुरुङभित्र जीवित मानिस खोज्ने अभियानलाई अत्यन्त कठिन र समयसँग प्रतिस्पर्धा गरिरहेको उद्धार प्रयासका रूपमा चित्रण गरिएको छ। सुरुङभित्र हिलो, ढुंगा र माटो भरिएका कारण उद्धारकर्मीलाई प्रवेश गर्नसमेत कठिन भएको छ। ड्रोन, थर्मल क्यामेरा, र्‍याफ्ट, अक्सिजन तथा इन्जिनियरिङ नक्साको सहायताले उद्धार प्रयास भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। एसोसिएटेड प्रेसले दुई जना कामदारलाई त्रिशूली–३ए को सुरुङबाट जीवित उद्धार गरिएको समाचारले भने लामो समयदेखि निराश बनेका परिवारमा आशाको किरण जगाएको छ।

विश्व सञ्चारमाध्यमले रसुवागढी नाकाको सीमापार विनाशलाई पनि विशेष महत्व दिएका छन्। भोटेकोशीको बाढीले नेपाल–चीन सीमास्थित महत्वपूर्ण संरचना, सडक, पुल, अध्यागमन कार्यालय र सवारीसाधन बगाएपछि नेपालतर्फ मात्र होइन, चीनको तिब्बत क्षेत्रमा समेत ठूलो क्षति भएको छ। कैलाश–मानसरोवर यात्रामा रहेका पर्यटक तथा तीर्थयात्रीसमेत विपद्को चपेटामा परेका थिए। यसले भोटेकोशी बाढीलाई नेपालभित्रको मात्र प्राकृतिक विपद्का रूपमा नभई सीमापार प्रभाव पार्ने हिमाली विपद्का रूपमा अन्तर्राष्ट्रिय बहसमा ल्याएको छ। WMO ले पनि यही कारण हिमाली जोखिममा नेपाल र चीनबीच वास्तविक समयको तथ्यांक आदानप्रदान तथा सीमापार पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

बीबीसीका दक्षिण एसिया संवाददाता आजादेह मोशिरीको स्थलगत रिपोर्टिङले भोटेकोशी बाढीले सडक, पुल, बस्ती, जलविद्युत् संरचना र रसुवागढी सीमाक्षेत्रमा पुर्‍याएको व्यापक विनाशलाई उजागर गरेको छ। यस विपद्बाट विदेशी पर्यटक, भारतीय नागरिक र नेपाल–चीन सीमा आवागमनसमेत प्रभावित बनेका छन्। ड्रोन र र्‍याफ्ट प्रयोग गरी जलविद्युत् सुरुङभित्र फसेका कामदारको खोजीमा उद्धारकर्मीहरूले गरिरहेको कठिन संघर्षलाई बीबीसीले मुख्य चुनौतीका रूपमा देखाएको छ। हिमनदी वा भू-भाग भत्किएर पानी, माटो र ढुंगाको भीषण बहावले यो विनाश ल्याएको वैज्ञानिक व्याख्या गर्दै बीबीसीले यस विपद्लाई तत्कालीन बाढी मात्र नभई बदलिँदो हिमाली जोखिमको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गरेको छ।

सीएनएनको रिपोर्टिङले भोटेकोशी बाढीको सीमापार प्रभाव र रसुवागढी नाकास्थित मितेरी पुल लगायतका पूर्वाधारमा भएको विनाशलाई प्राथमिकता दिँदै यस विपद्को असर चीनको तिब्बतसम्म फैलिएको देखाएको छ। विदेशी पर्यटक तथा भारतीय नागरिकसमेत प्रभावित भएकाले यसलाई अन्तर्राष्ट्रिय मानवीय सङ्कटका रूपमा प्रस्तुत गर्दै सीएनएनले दुर्गम सीमापार हिमाली क्षेत्रमा प्रभावकारी उद्धार र समन्वयको चुनौतीलाई मुख्य विषय बनाएको छ।

अल जजिराको रिपोर्टिङले जलविद्युत् सुरुङभित्र फसेका ९०० भन्दा बढी कामदार र उनीहरूलाई बचाउन नेपाली, चिनियाँ तथा भारतीय विज्ञहरूले गरिरहेको संयुक्त उद्धार प्रयासलाई मुख्य विषय बनाएको छ। यसका साथै, बेपत्ता छोराको खोजीमा पैदलै प्रभावित क्षेत्र पुगेका बाबु र शव नभेटिएपछि काठमाडौँमा सांकेतिक अन्त्येष्टि गर्न बाध्य परिवारका मार्मिक कथाहरू समेट्दै अल जजिराले विपद्को वास्तविक मानवीय पीडालाई तथ्याङ्कभन्दा माथि उठाएर देखाएको छ।

WMO ले भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनजन्य हिमाली जोखिमको शृङ्खलाका रूपमा व्याख्या गर्दै गाल्छी (९ मिटर) र मालखु (७ मिटर) मा ३० मिनेटभित्रै तीव्र गतिमा जलसतह बढेकाले परम्परागत पूर्वसूचना प्रणाली मानिस बचाउन अपर्याप्त देखिएको जनाएको छ। यसै सन्दर्भमा, मोंगाबेको अनुसन्धानले सरकारी एसएमएस ढिलो र अस्पष्ट भएको देखाउँदै नुवाकोटका ९०० विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न स्थानीय समुदायकै सम्पर्क संयन्त्र सफल बनेको उल्लेख गरेको छ। यस घटनाले ‘सेल ब्रोडकास्ट’ जस्ता आधुनिक प्रविधिको प्रयोगसँगै स्पष्ट, स्थानविशेष र समुदायमा आधारित पूर्वसूचना प्रणालीको टड्कारो आवश्यकतालाई अन्तर्राष्ट्रिय बहसको विषय बनाएको छ।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले भोटेकोशी बाढीको पछिल्लो अवस्थालाई विशेषतः मानवीय त्रासदी र बेपत्ता विदेशी नागरिकको खोजीका रूपमा प्रस्तुत गरेको छ। उसको रिपोर्टमा कम्तीमा १ हजार २५२ जनाको मृत्यु भएको, ४ हजार २०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको तथा सयौँ विदेशी नागरिकको अवस्थाबारे परिवारहरू चिन्तित रहेको उल्लेख छ। जलविद्युत् आयोजनाका सुरुङमा करिब ९०० जना फसेको आशंकालाई पनि रिपोर्टले उद्धार अभियानको सबैभन्दा कठिन पक्षका रूपमा देखाएको छ। काठमाडौंमा बेपत्ता आफन्तको नाम खोजिरहेका परिवार र आशा कमजोर हुँदै गएपछि बेपत्ता आफन्तको प्रतीकात्मक अन्त्येष्टि गर्न थालेका परिवारका दृश्यलाई इन्डियन एक्सप्रेसले विपद्को मानवीय गहिराइका रूपमा प्रस्तुत गरेको छ।

चिनियाँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम CGTN को रिपोर्टिङ भने बाढीको विनाशसँगै चीनको तर्फबाट भइरहेको उद्धार तथा मानवीय सहयोगमा केन्द्रित देखिन्छ। CGTN ले रसुवागढीसँग जोडिएको तिब्बतको ग्यिरोङ क्षेत्रमा उद्धारका क्रममा चिनियाँ टोलीले सामना गरिरहेको कठिन भौगोलिक अवस्थालाई प्रस्तुत गरेको छ। चिनियाँ उद्धारकर्मीले डुंगा, ड्रोन तथा स्थलमार्ग प्रयोग गरेर प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। CGTN ले चीनले नेपालमा थप राहत सामग्री र डीएनए विज्ञ पठाएको तथा ग्यिरोङ क्षेत्रमा सडक र विद्युत् पूर्वाधार पुनःस्थापनाका प्रयास अघि बढाएको विषयलाई पनि प्राथमिकता दिएको छ।

CGTN को अर्को महत्वपूर्ण कोण हिमाली भूगोल र विपद्को तीव्रता हो। उसको विश्लेषणमा चीन–नेपाल सीमाको तीव्र ढलान भएका गहिरा खोँचले पानी, ढुंगा र माटोको प्रवाहलाई अझ विनाशकारी बनाएको उल्लेख छ। यसले भोटेकोशी विपद्लाई सामान्य मौसमी बाढीभन्दा फरक, हिमाली क्षेत्रमा उत्पन्न हुने बहुस्तरीय र तीव्र गतिका जोखिमको उदाहरणका रूपमा चित्रित गरेको छ।

जर्मनीको डीडब्ल्यू (DW) ले भने भोटेकोशी विपद्लाई स्पष्ट रूपमा जलवायु परिवर्तन र हिमनदी पग्लिने जोखिमसँग जोडेको छ। DW का अनुसार बाढीको विशाल लहर भोटेकोशी र त्रिशूली नदी हुँदै १६० किलोमिटरभन्दा बढी दूरीमा फैलिएको थियो। उसको रिपोर्टिङमा नेपालमा ८०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको र तीमध्ये करिब ६०० विदेशी नागरिक रहेको उल्लेख गर्दै उद्धारकर्ताहरूले अत्यन्त कठिन परिस्थितिमा काम गरिरहेको देखाइएको छ। DW ले अर्को भिडियो रिपोर्टमा गाउँ, सडक, पुल र अन्य पूर्वाधार एकैछिनमा बगाएको दृश्य प्रस्तुत गर्दै यो विपद्ले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको बताएको छ।

फ्रान्स २४को अन्तर्राष्ट्रिय दृष्टिकोणमा पनि नेपाल–तिब्बत सीमामा भएको बाढीको मानवीय क्षतिसँगै हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक जोखिम प्रमुख विषय बनेको छ। अन्तर्राष्ट्रिय रिपोर्टिङमा रसुवागढी, ग्यिरोङ र भोटेकोशी–त्रिशूली करिडोरलाई एउटै विपद् क्षेत्रका रूपमा हेर्दै नेपाल र चीन दुवैतर्फको सीमापार प्रभावलाई जोड दिइएको छ। बाढीले सडक, पुल, सीमा पूर्वाधार तथा जलविद्युत् आयोजनामा पुर्‍याएको क्षतिले यो केवल स्थानीय बाढी नभई हिमालयको दुवैतर्फ प्रभाव पार्ने क्षेत्रीय विपद् भएको देखाएको छ।

अमेरिकास्थित द न्युयोर्क टाइम्सले सुरुवाती रिपोर्टिङमै सयौँ विदेशी पर्यटक बेपत्ता भएको, भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा र मलेसियालगायतका नागरिक प्रभावित भएको र भोटेकोशी तथा त्रिशूली किनारका बस्तीहरूमा ठूलो क्षति पुगेको उल्लेख गरेको थियो। भूगर्भविद्हरूको विश्लेषण उद्धृत गर्दै न्युयोर्क टाइम्सले हिमनदी तथा चट्टानको ठूलो खसाइले अत्यन्त शक्तिशाली बाढी सिर्जना गरेको सम्भावनालाई प्रस्तुत गरेको थियो।

इजरायली सञ्चारमाध्यम हारेत्जले यस विपद्लाई नेपाल र तिब्बतमा देखिएको हिमाली जलवायु संकट र यसको मानवीय मूल्यको फराकिलो सन्दर्भमा हेरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको समग्र विश्लेषणमा नेपालजस्ता हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने मुलुकहरू जलवायु परिवर्तनका असरबाट असमान रूपमा प्रभावित भइरहेका छन् भन्ने प्रश्न उठाइएको छ। यही कारण भोटेकोशी विपद् राहत र उद्धारको विषय मात्र नभई जलवायु उत्तरदायित्वको विषय पनि बनेको छ।

रुसी सञ्चारमाध्यम द मस्को टाइम्सको रिपोर्टिङले पनि विपद्को मानवीय पक्ष, विदेशी नागरिकको बेपत्ता अवस्था र हिमालयमा देखिएको चरम प्राकृतिक जोखिमलाई अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्‍याएको छ। विशेषतः ठूलो संख्यामा विदेशी पर्यटक तथा तीर्थयात्री प्रभावित हुनु र सीमापार क्षेत्रमा उद्धार तथा सञ्चार सम्पर्क अवरुद्ध हुनु यस विपद्को अन्तर्राष्ट्रिय आयामका रूपमा प्रस्तुत भएको छ।

अफ्रिकी सञ्चारमाध्यम African News Agency (ANA) को दृष्टिकोणबाट हेर्दा पनि नेपालमा भएको विपद् अफ्रिकी मुलुकहरूका लागि अपरिचित विषय होइन। ANA को क्षेत्रीय दृष्टिकोणमा प्राकृतिक विपद्का बेला कमजोर पूर्वाधार, सीमित उद्धार क्षमता र जलवायु परिवर्तनबाट बढ्दो चरम मौसमी घटनाले विकासशील मुलुकहरूमा पार्ने असमान प्रभाव महत्वपूर्ण विषय बन्छ। भोटेकोशी घटनाले पनि विकासशील मुलुकहरूले विपद् व्यवस्थापन, पूर्वसूचना, जलवायु अनुकूलन र पूर्वाधार सुरक्षामा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता कति गम्भीर छ भन्ने प्रश्न उठाएको छ।

विश्व सञ्चारमाध्यमको रिपोर्टिङ केवल मृत्यु, विनाश र उद्धारमा सीमित छैन। धेरै अन्तर्राष्ट्रिय विश्लेषणले यस घटनालाई जलवायु परिवर्तन र जलवायु न्यायको प्रश्नसँग जोडेर हेरेका छन्। गार्जियनलगायतका सञ्चारमाध्यमले हिमनदी तथा उच्च हिमाली भूभागमा बढ्दो अस्थिरता र विश्वव्यापी तापक्रम वृद्धिबीचको सम्बन्धलाई उजागर गर्दै नेपालजस्ता न्यून उत्सर्जन गर्ने देशले जलवायु परिवर्तनको अत्यधिक मूल्य चुकाइरहेको विषय उठाएका छन्।  यसरी हेर्दा विश्व सञ्चारमाध्यमले भोटेकोशी बाढीलाई केवल ‘नेपालमा आएको ठूलो बाढी’ का रूपमा मात्र चित्रण गरेका छैनन्। यो घटना उनीहरूको रिपोर्टिङमा हिमाली जलवायु संकट, सीमापार विपद्, कमजोर पूर्वसूचना प्रणाली, जलविद्युत् तथा पूर्वाधारको जोखिम, मानवीय उद्धार र जलवायु न्यायको विश्वव्यापी बहसको एउटा गम्भीर उदाहरण बनेको छ। नेपालका लागि यसको सबैभन्दा ठूलो सन्देश भनेको विपद्पछि राहत र पुनर्निर्माणमा मात्र सीमित नभई जोखिम पहिचान, हिमनदी तथा हिमतालको निगरानी, सीमापार सूचना आदानप्रदान, समुदायमा आधारित पूर्वसूचना, सुरक्षित पूर्वाधार र दीर्घकालीन जलवायु अनुकूलनमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता हो।