काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
बिहीबार बसेको रास्वपा पार्टी सचिवालयको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को अवस्थाबारे समीक्षा गर्दै प्रभावित नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितहरूका लागि आवश्यक राहत सामग्रीको न्यायोचित वितरणमा जोड दिएको हो।
बैठकले विपद्पछिको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको रास्वपाले जनाएको छ।
राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै रास्वपाले सरकारद्वारा सञ्चालन भइरहेका उद्धार तथा राहतका प्रयासमा पार्टीका सम्पूर्ण संरचनाबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।
त्यस्तै, सरकारका सकारात्मक तथा परिणाममुखी कदममा सहयोग पुर्याउन रास्वपासहित अन्य राजनीतिक दललाई समेटेर सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउने दिशामा पहल जारी राख्ने निर्णय बैठकले गरेको छ।
बैठकले पार्टीको आर्थिक सुशासन तथा व्यवस्थापनमा निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले पुर्याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ।
यसैगरी, नवनियुक्त कोषाध्यक्ष डा. मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै नयाँ कार्यभार हस्तान्तरण गरिएको छ। रास्वपाले प्रधानको कार्यकालमा पार्टीको आर्थिक व्यवस्थापन थप सुदृढ, पारदर्शी र चुस्त हुने विश्वास व्यक्त गरेको छ।
सोही अवसरमा सहमहामन्त्री पुरुषोत्तम शुप्रभात यादव, पार्टी प्रवक्ता जगदीश खरेल तथा नवमनोनित पार्टी सचिवालय सदस्यहरू शिशिर खनाल, गणेश पराजुली, दिपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव अधिकारीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनीहरूलाई पार्टी सभापति रवि लामिछानेले शपथ ग्रहण गराएका हुन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गरिएको हो।