काठमाडौँ । रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुको परिवारले समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई धन्यवाद दिएका छन् ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर उनीहरुले मन्त्री विराज भक्त श्रेष्ठलाई भेटी टनेलमा फसेकाहरुको उद्धारका लागि द्रुत गतिमा भइरहेको उद्धार कार्यका लागि धन्यवाद दिएका हुन् ।
उनीहरुले छिटो सुरुङबाट निकालेर आफ्नो आफन्तलाई काठमाडौँ ल्याइदिन अनुरोध पनि गरेका छन् । उद्धारका लागि चाहिने आवश्यक उपकरण, अक्सिन पनि पठाउन अनुरोध गरेका छन् ।
मन्त्री श्रेष्ठले त्रिशूली–३ ‘ए’ हाइड्रो टनेलमा उद्धार कार्य निकै अगाडि बढेको र त्रिशूली–३ ‘बी’ मा पनि विशेषज्ञसहित १८ सदस्यीय सेनाको टोलीले काम सुरु गरेको जानकारी गराएका थिए ।
पीडित परिवारले शनिबार मन्त्री श्रेष्ठलाई भेटी तीनवटा माग राखेका थिए । पहिलो आफ्ना आफन्तको वास्तविक अवस्थाबारे जानकारी दिनुपर्ने, दोस्रो टनेलभित्र अक्सिजन पठाउनुपर्ने, तेस्रो आवश्यक स्रोत साधन र उपकरण परिचालन गर्नुपर्ने माग थियो ।
मागअनुसार टनेलमा ड्रिलिङ गरी अक्सिजन पठाएर खोज तथा उद्धारलाई तीव्रता दिएपछि पीडित परिवारका सदस्य मन्त्रालय आएर मन्त्रीलाई धन्यवाद दिँदै छिटो उद्धार गरेर काठमाडौँ ल्याइदिन अनुरोध गरेका हुन् ।
मन्त्री श्रेष्ठले फिल्डमा उद्धार टोली परिचालन भइरहेको, आवश्यक सामग्री तयारी अवस्थामा रहेको जानकारी गराएका थिए । पीडित परिवारले आज बेलुकासम्म उनीहरुको अवस्थाबारे जानकारी गराइदिन अनुरोध गरेका थिए । ‘बेलुकासम्म उनीहरुलाई काठमाडौँ ल्याउने वातावरण बनाउन लागिदिनुस्,’ उनीहरुले भने ।
मन्त्री श्रेष्ठले उद्धारका लागि उच्च स्तरमा समन्वय भइरहेको भन्दै छिटै सुखद परिणाम आउने विश्वास दिलाएका थिए ।