काठमाडौं। रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि भारतीय मूलका फ्रान्सेली नागरिक कपिल महाजन सम्पर्कविहीन भएका छन्। बाढीपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको भन्दै साथीभाइ तथा परिवारले उनको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन्।

४५ वर्षीय महाजन ग्रुप वन (Group One) नामक कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनी सद्गुरुको मानसरोवर यात्रामा गएको टोलीसँगै नेपाल हुँदै मानसरोवरतर्फ यात्रा गरिरहेका थिए।

रसुवामा आएको ठूलो बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेपछि महाजनसँग सम्पर्क हुन नसकेको उनका साथीभाइ तथा परिवारको भनाइ छ। बाढीपछि उनको मोबाइल तथा अन्य सम्पर्क माध्यमबाट समेत सम्पर्क हुन नसकेपछि परिवारजन थप चिन्तित बनेका छन्।

महाजन फ्रान्सेली नागरिक भए पनि भारतीय मूलका व्यक्ति रहेको बताइएको छ। उनको यात्रा तथा पहिचानसम्बन्धी विवरण सम्बन्धित निकायलाई उपलब्ध गराइएको परिवारजनले बताएका छन्।

साथीभाइ तथा परिवारले नेपाल प्रहरी, पर्यटक प्रहरी, स्थानीय प्रशासन तथा उद्धारमा संलग्न सम्बन्धित निकायलाई महाजनको सम्भावित अवस्थाबारे खोजी गरी यथाशीघ्र जानकारी उपलब्ध गराइदिन अपिल गरेका छन्।

विशेषगरी रसुवाको बाढी प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको र सञ्चार तथा यातायात सम्पर्कसमेत प्रभावित बनेका कारण उनी कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे परिवारले तत्काल जानकारी पाउन सकेको छैन।

परिवार तथा साथीभाइले कपिल महाजनको खोजीलाई प्राथमिकतामा राखीदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

(फिचर फोटो महाजनले आफ्ना बालबच्चासँग खिचाएको अन्तिम तस्बिर हो।)