भरतपुर । प्राकृतिक विपद्को समयमा हुने लुटपाट र अमानवीय गतिविधिलाई पूर्ण रूपमा रोक्न चितवन प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको छ। भोटेकोशी नदीको बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा तानेको भिडियो भाइरल भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
२०८३ भदौ १० गते तिब्बतबाट आएको भीषण पहिरोका कारण भोटेकोशीमा आएको बाढीले बगाएका शव नारायणी र त्रिशूली नदी किनारमा भेटिएका थिए। शवको पहिचान र व्यवस्थापन भइरहेकै बेला एक शवको कानबाट गहना निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले भदौ ११ गते भरतपुर-१, पोखरा बसपार्क नजिकैबाट दुई आरोपीलाई पक्राउ गर्यो।
पक्राउ पर्ने व्यक्तिहरू:
- मदन गुरुङ (२५ वर्ष): घर नवलपरासी (विनय त्रिवेणी-१), हाल भरतपुर-१ लीला चोक।
- उमेश चौधरी (३८ वर्ष): घर सुनसरी (चाँदबेला-५), हाल भरतपुर-२ सुपारी टोल।
चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सङ्कटको समयमा पीडित वा मृतकमाथि गरिने लुटपाट र अमानवीय व्यवहार क्षम्य हुने छैन। यस्ता घटनामा संलग्न जो-कोहीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी टोली सक्रिय पारिएको छ।
विपद्को घडीमा मृतकका गरगहना चोरी गर्ने जस्ता संवेदनशीलहीन कार्यले पीडित परिवारको पीडा अझ बढाउने भएकाले प्रहरीले निगरानी बढाएको छ। साथै, यस्ता अमानवीय वा गैरकानुनी गतिविधिबारे जानकारी पाएमा तुरुन्त प्रहरीलाई खबर गर्न सर्वसाधारणमा अपिल गरिएको छ।