विवादास्पद व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्।
नेपाल प्रहरीले उनलाई सोमबार पोखराबाट पक्राउ गरेको हो।
पोखरा लेकसाइडमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ।
प्रहरीको साइबर ब्युरोले उनीमाथि अनुसन्धान अघि बढाएको छ।
नेपाली कांग्रेसको आधिकारिकता विवादमा आर्थिक प्रभावमा परेर निर्वाचन आयोगले निर्णय लिएको दाबी गर्दै उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए।
त्यसपछि आइतबार आयोगले उनीमाथि कारबाही अघि बढाउन निर्णय नै गरेर निर्देशन दिएको थियो।
त्यस्तै, प्रसाईंले सरकारी वेबसाइट ह्याक गर्न अह्राएको अडिओ पनि सामाजिक सञ्जालमा फैलिएको छ।
यसअघि पनि प्रसाई यस्तै अभिव्यक्ति र अराजक व्यवहारका कारण पटकपटक पक्राउ पर्दै आएका हुन्। पछिल्लो समय उनी चुनाव भाँड्ने र समाजमा अशान्ति फैलाउने कार्यमा उद्यत देखिएको सूचना विभिन्न संयन्त्रहरुले सरकारलाई दिइरहेका छन्।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार निर्वाचनको वातावरण बनाउन लागिपरेको छ। निर्वाचनको वातावरण नबिथोलियोस् भनेर प्रसाईसँग वार्ता गरी १२ बुँदे सम्झौता पनि सरकारले गरिसकेको छ। तर प्रसाईँका व्यवहार नसुध्रिएपछि कानुनी कारबाही अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।