काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल ई–अटेस्टेसन सिस्टम (NEATS) को औपचारिक शुभारम्भ गरेका छन्। कन्सुलर सेवा विभागले विकास गरेको उक्त प्रणालीमार्फत अब कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवा थप डिजिटल, सहज र पारदर्शी बनाउने तयारी गरिएको हो।

NEATS शुभारम्भ कार्यक्रममा परराष्ट्रमन्त्री खनालले कन्सुलर सेवाको डिजिटल रूपान्तरणको महत्त्वमा जोड दिँदै नयाँ प्रणालीले सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनले NEATS ले कन्सुलर सेवामा पहुँच, पारदर्शिता र पूर्वानुमेयता बढाउनुका साथै सेवा प्रवाहलाई आधुनिक र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुकूल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

विभागका अनुसार आगामी १ भदौ २०८३ (१७ अगस्ट २०२६) देखि NEATS औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। प्रणाली लागू भएपछि सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सेवाग्राहीले आफ्नो आवेदनको अवस्था अनलाइनबाटै हेर्न तथा ट्र्याक गर्न, आवश्यक शुल्कको भुक्तानी गर्न र विभागमा उपस्थित हुनुअघि अनलाइनमार्फत भेटघाटको समय (अपोइन्टमेन्ट) बुक गर्न सक्नेछन्।

नयाँ प्रणालीको कार्यान्वयनसँगै कन्सुलर प्रमाणीकरणका क्रममा हुने प्रक्रियागत ढिलाइ न्यूनीकरण हुने अपेक्षा गरिएको छ। साथै, सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।

NEATS को कार्यान्वयनलाई कन्सुलर सेवाको डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। प्रणालीले सेवाग्राहीलाई कार्यालयमा अनावश्यक रूपमा उपस्थित हुनुपर्ने अवस्थालाई घटाउँदै सेवा प्रक्रियालाई प्रविधिमैत्री र पूर्वानुमानयोग्य बनाउने अपेक्षा गरिएको छ।