काठमाडौँ, १४ साउन । प्रधानमन्त्री बालेन शाहले सुनसरीको देवानगञ्ज र सिराहा लगायतका क्षेत्रमा हालै भएका दुखद् घटना तथा त्यसपछिको अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्। बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सो घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शान्ति सुरक्षा भंग गर्ने र सामाजिक सद्भाव खलबल्याउने जुनसुकै तत्वमाथि कडा कारबाही गरिने चेतावनी दिएका हुन्।
देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुनसरी र सिराहाको घटनामा परी निधन भएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै पनि कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशनसमेत दिइसकेको जानकारी दिए।
घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन, पीडित पक्षसँग संवाद र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगिसकेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट परिस्थिति अनुसार आवश्यक निर्णयहरू भइसकेको उनले जानकारी दिए।
यस्तै, यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह वा घृणा फैलाउने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले सरकारी निकायबाट जारी आधिकारिक सूचनामा मात्र विश्वास गर्न नागरिकहरूसँग विशेष अपिल गरे। धर्म र संस्कृतिले समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने कार्य गर्ने उल्लेख गर्दै उनले कुनै एक स्थानको दुखद् घटनालाई लिएर सिङ्गो समुदायलाई आरोपित गर्ने र देशका अन्य भूभागमा प्रतिशोधको आगो फैलाउने कार्य कुनै पनि दृष्टिकोणबाट न्यायसङ्गत नहुने स्पष्ट पारे। सम्बोधनको अन्त्यमा मैथिली भाषासमेत प्रयोग गर्दै उनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम र आम नागरिकलाई संयमता अपनाई मुलुकमा शान्ति, भाइचारा र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गरे।