काठमाडौं, १२ साउन। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। क्यान्सर रोगबाट पीडित श्रेष्ठको मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
केही समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका श्रेष्ठ पछिल्ला दिनमा अस्पतालमा उपचाररत थिए। अस्पतालले मंगलबार दिउँसो उनको निधन भएको घोषणा गरेको थियो। उनको निधनसँगै नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा लामो समय सक्रिय एक अनुभवी नेता गुमाएको छ।
श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ। श्रद्धाञ्जली कार्यक्रमपछि शवयात्रासहित उनको पार्थिव शरीर पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिनेछ।
श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै उनको राजनीतिक योगदानको स्मरण गरिनेछ।
स्याङ्जामा जन्मिएका श्रेष्ठ विद्यार्थी अवस्थादेखि नै प्रजातान्त्रिक राजनीतिमा सक्रिय भएका थिए। विसं २०१७ सालबाट राजनीतिक यात्रा सुरु गरेका उनले २०३६ सालको जनमतसंग्रह आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनका क्रममा उनले विभिन्न समयमा गरी करिब साढे पाँच वर्ष जेल जीवन बिताएका थिए। लोकतान्त्रिक व्यवस्था स्थापना, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा उनले निरन्तर आवाज उठाउँदै आएका थिए।
श्रेष्ठ नेपाली कांग्रेसका पूर्वउपसभापति तथा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिसमेत थिए। राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा जेलमा रहेका बेला श्रेष्ठले पार्टीको नेतृत्व सम्हालेका थिए।
निधन हुनुभन्दा केही दिनअघि मात्र, साउन ७ गते, कांग्रेस सभापति गगनकुमार थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए। उक्त निर्णयलाई केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गराउने तयारी थियो।
लामो राजनीतिक जीवनमा श्रेष्ठले उपप्रधानमन्त्री तथा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण, उद्योगलगायत मन्त्रालयको नेतृत्वसमेत गरेका थिए।
स्याङ्जालाई आफ्नो राजनीतिक आधार बनाएका श्रेष्ठ विभिन्न निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा तथा संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनी कांग्रेस संसदीय दलको प्रमुख सचेतकसमेत बनेका थिए।
उनका तीन छोरा र छ छोरी छन्।
कांग्रेस सभापति गगनकुमार थापाले श्रेष्ठलाई लोकतान्त्रिक आन्दोलनका समर्पित, निष्ठावान, अनुभवी र निर्भीक नेताका रूपमा स्मरण गरेका छन्। श्रेष्ठले लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण र लोकतन्त्रको संरक्षणमा पुर्याएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्दै थापाले उनको निधनलाई पार्टी र देशका लागि अपूरणीय क्षति बताएका छन्।