काठमाडौं – त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका सत्रान्त परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ।

व्यवस्थापन संकायअन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले आइतबार जारी गरेको सूचनामा विश्वविद्यालयको परीक्षा नियमावली तथा विद्यार्थी आचारसंहिता अनिवार्य रूपमा पालना गर्न परीक्षार्थीलाई निर्देशन दिएको छ।

सूचनाअनुसार परीक्षार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक तथा वैध प्रवेशपत्र प्रत्येक परीक्षाका दिन अनिवार्य रूपमा ल्याउनुपर्नेछ। परीक्षा केन्द्रले निर्धारण गरेको सिटमा बसेर मात्र परीक्षा दिनुपर्ने र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति नलिई आफ्नो सिट वा परीक्षा भवन छाड्न नपाइने व्यवस्था गरिएको छ।

त्यस्तै, परीक्षा सुरु भएको पहिलो एक घण्टाभित्र परीक्षार्थीलाई परीक्षा भवनबाट बाहिर निस्कन अनुमति नदिइने सूचनामा उल्लेख छ।

परीक्षा भवनभित्र मोबाइल फोन, स्मार्टवाचसहितका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक तथा अन्य कुनै पनि निषेधित सामग्री लैजान कडाइका साथ रोक लगाइएको छ।

त्रिविले नक्कल गर्ने, अरूलाई नक्कल गर्न सहयोग गर्ने, अर्काको सट्टामा परीक्षा दिने, परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने तथा परीक्षा कर्मचारीसँग अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।

परीक्षा अवधिभर केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीले दिएका निर्देशन पूर्ण रूपमा पालना गर्न पनि परीक्षार्थीलाई आग्रह गरिएको छ।

परीक्षा नियमावली तथा आचारसंहिता उल्लङ्घन गरेको पाइएमा सम्बन्धित परीक्षार्थीको परीक्षा रद्द गर्नेदेखि निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउन सकिने सूचनामा जनाइएको छ। गम्भीर प्रकृतिको उल्लङ्घन भएमा आवश्यक कानुनी कारबाहीसमेत हुन सक्ने विश्वविद्यालयले चेतावनी दिएको छ।

व्यवस्थापन संकायले अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा परीक्षा सम्पन्न गर्न सबै परीक्षार्थीबाट सहयोगको अपेक्षा गरेको छ।