नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशको लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज र युवा पुस्ताबीच एकता र सहकार्यको आवश्यकतामा जोड दिएका छन्। पार्टीको तर्फबाट एक सार्वजनिक वक्तव्य जारी गर्दै उनले देश अहिले गम्भीर मोडमा रहेको र यसको सामना गर्न विगतको अनुभवबाट सिकेर अघि बढ्नुपर्ने बताएका छन्।

देउवाले लोकतन्त्रको रक्षा नै राष्ट्रको रक्षा भएको उल्लेख गर्दै, यसका लागि दलहरूबीचको संवाद र सहकार्य अपरिहार्य रहेको बताए। उनले भने, “आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ।”

उनले वर्तमान सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाउँदै यसले लोकतान्त्रिक संस्था र प्रणालीलाई कमजोर बनाउने चेतावनी दिए। संवैधानिक संस्थाहरूलाई आफ्नो नियन्त्रणमा लिने प्रयासले लोकतन्त्रमाथि खतरा पैदा गरेको उनको भनाइ थियो।

देउवाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको स्मरण गर्दै, व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र र लोकतन्त्रको एकता सर्वोपरि भएको विचार व्यक्त गरे। उनले आफू विदेशमा उपचार गराएर स्वदेश फर्केपछि पनि निरन्तर देश, जनता र लोकतन्त्रको हितमा चिन्तित रहेको बताए।

देउवाले सबै राजनीतिक दलहरू, नागरिक समाज र युवा पिँढीलाई राष्ट्र निर्माण र साझा भविष्यको लागि दृढ संकल्पका साथ अघि बढ्न आह्वान गरेका छन्। उनले भने, “प्रतिकूल परिस्थितिमा पनि लोकतन्त्र र संविधानको रक्षाको लागि नेपाली कांग्रेस आफ्नो जिम्मेवारी निर्वाह गर्न सधैं तत्पर छ।”