नेपाल सरकारले रमजान १४४७ हिजरी (२०२६) को पावन अवसरमा ३३ जना नेपाली कैदीलाई शाही आममाफी प्रदान गरेकोमा साउदी अरब सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
सरकारले जारी गरेको वक्तव्यमा यस निर्णयलाई नेपाल र साउदी अरबबीचको दीर्घकालीन मित्रता, आपसी सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको महत्वपूर्ण उदाहरणका रूपमा उल्लेख गरिएको छ। नेपाल सरकारले रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधलाई सकारात्मक रूपमा सम्बोधन गर्दै साउदी सरकारले शाही आममाफी प्रदान गरेको जनाइएको छ।
आममाफी पाएका ३३ जना नेपाली नागरिकले साउदी अरबको प्रचलित कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कनेछन्। नेपाल सरकारले साउदी सरकारको यस मानवीय र उदार कदमले दुई देशबीचको विश्वास, सहकार्य र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।