सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ३ जना अभियुक्तलाई थुनामै राख्न आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार यो आदेश जारी गरेको हो । आदेशअनुसार पदम अयडी, लोकेश अयडी र जीवन अयडीले अब थुनामै बसेर मुद्दाको प्रतिवाद गर्नुपर्नेछ ।
सर्वोच्च अदालतले उच्च अदालत दीपायलबाट यसअघि भएकै आदेश सदर गरेको हो ।
चेतन हत्याका अभियुक्त रतनबहादुर अयडीसँग ३ लाख रुपैयाँ धरौटी लिने उच्च अदालतको आदेश पनि सर्वोच्चले सदर गरेको छ।
रत्नसहित ११ जना अभियुक्तलाई धरौटीमा छाड्ने उच्चको आदेश सर्वोच्चबाट सदर भएको हो ।
२०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो । त्यसबेलाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तीमध्ये तत्काल पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।
ती १० जनामध्ये ४ जनालाई मात्र थुनामा राख्न सर्वोच्चले आदेश गरेको थियो। जसअनुसार धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडी थुनामै छन् ।
त्यतिखेर जिल्ला र उच्च अदालतले थुनामा पठाएका अभियुक्तहरू जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई सर्वोच्चले साधारण तारिखमा छाडिदिएको थियो । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश गरेको थियो । क्रूरतापूर्वक भएको हत्याका अभियुक्तलाई साधारण तारिखमा छाडिएपछि उक्त आदेश विवादित भएको थियो । चेतनका आफन्तले दुवै न्यायाधीश नेपाली कांग्रेसको पृष्ठभूमिका भएकाले राजनीतिक आग्रह र प्रभावमा उक्त आदेश गरेको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी नै दिएका थिए । राउतलाई प्रधानन्यायाधीश बनाउन नहुने जिकिरसमेत उनले गरेका थिए । यद्यपि संसदीय सुनुवाइ समितिले राउतलाई अनुमोदन गरेको थियो ।
बाँकी १४ जना फरार भई लुकिरहेको अवस्थामा विभिन्न मितिमा प्रहरीले पक्राउ गरी अदालतमा प्रस्तुत गरेको थियो । तीमध्ये ३ जनालाई मात्रै जिल्ला र उच्च अदालतले थुनामा पठाउने आदेश गरेका थिए । रतनबहादुर अयडीलाई जिल्लाले साधारण तारिखमा छाडे पनि उच्चले ३ लाख रुपैयाँ धरौटी लिने आदेश गरेको थियो ।
चेतन हत्याकाण्डको मूल मुद्दा बाजुरा जिल्ला अदालतमा विचाराधीन छ । थुनछेकसम्बन्धी विवाद सर्वोच्च अदालतबाट टुंगिएपछि अब उक्त मुद्दाको फैसला गर्न जिल्ला अदालतलाई बाटो खुलेको छ ।
यी हुन् चेतन हत्याका अभियुक्तहरु:
जंग भन्ने शेर बहादुर अयडी
लोकेश अयडी
चक्र अयडी
रतन बहादुर अयडी
नवीन अयडी
विनोद बहादुर अयडी
खेमराज अयडी
रनसिंह बहादुर अयडी
नर अयडी
नरेश अयडी
भुपाल अयडी
रुपा चौधरी अयडी
निरज बहादुर अयडी
अनिता रौले अयडी
मोहन बहादुर अयडी
धनराज थापा
सागर अयडी
जीवन अयडी
मदन बहादुर अयडी
उद्वव बहादुर अयडी
जुद्ध बहादुर अयडी
ईश्वरी देवी अयडी
धना देवी अयडी
पदम बहादुर अयडी