अभूतपूर्व जनादेशसहित राष्ट्रिय राजनीतिको अग्रशक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यपालिका र व्यवस्थापिकाको नेतृत्व गर्न सफल भएको छ ।

प्रधानमन्त्रीमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भए । लगत्तै संसदको सभामुख पनि रास्वपाकै उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकबाट उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । उनको भूमिका अब कुनै पार्टीबाट प्रभावित नभई निष्पक्ष र तटस्थ हुने अपेक्षा उनका प्रस्तावक र समर्थकहरुले गरेका छन् ।

उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी रास्वपाका सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए । स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्सालले समर्थन गरेका थिए ।

अर्यालको विरुद्धमा अर्को उम्मेदवारी नपरेकाले सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

यस क्रममा समर्थकका रुपमा वाग्लेले नेपालको संसदीय इतिहासको चर्चा गर्दै अनुकरण गर्न लायक भनेर तीन सभामुखको नाम लिए­­- कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्बाङ ।

अर्थात् रास्वपाले सभामुख पदको मर्यादा र गरिमाका लागि उदाहरणीय ठानेको छ ।

हुन त हालका राष्ट्रपति रामचन्द्र पौडेल पनि कुनै समय सभामुख नै थिए । तर उनले सभामुखका रुपमा सम्झनलायक कुनै छाप छाड्न नसकेको देखियो । त्यस्तै अग्निप्रसाद सापकोटा, ओनसरी घर्ती र देवराज घिमिरे पनि सभामुखको कुर्सीबाट हटेको धेरै भएको छैन । तर उनीहरुले पनि सुखद स्मृतिमा रहने गरी कुनै छाप छाड्न सकेको देखिँदैन ।

तसर्थ पद र कुर्सीमा जोकोही पुगे पनि उक्त पदको गरिमा र मर्यामा को रह्यो भन्ने कुरा स्मरणीय हुन्छ भन्ने आजको प्रतिनिधि सभा बैठकले देखाएको छ ।

संयोगश नेपालको संसदीय इतिहासका मानक सभामुख मानिएका तीनै जना दिवंगत भइसकेका छन् ।