निर्वाचन आयोगले गगन थापाको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनलाई वैधता प्रदान गरेपछि नेपाली कांग्रेसभित्र उनको समर्थनमा थप नेताहरु खुल्न थालेका छन्।
पूर्वसभापति शेरबहादुर देउवासहित केही नेताले आयोगको निर्णयमा असन्तुष्टि जनाए पनि धेरै प्रभावशाली नेताहरु गगनकै पक्षमा उभिएका छन्।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले आज बिहानै एक भिडिओ सन्देश सार्वजनिक गरी अब गगनलाई सहयोग गरेर जानुपर्ने धारणा राखेकी छन्।
गगनको कदमले कांग्रेस फुटेको नभई नयाँ सभापति आएको टिप्पणी पनि गरेकी छन्।
‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर, खुसी भएर अँगालो मार्नुपर्दछ,’ कोइरालाले भिडिओ सन्देशमा भनेकी छन्, ‘नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।’
नेता कोइरालाले परिवर्तन स्वीकार्न र कानुनको व्याख्यातिर नलाग्न पनि असन्तुष्ट नेताहरूलाई आग्रह गरेकी छन्।
यस्तै शेखर कोइराला पक्षधर नेता सुनील शर्माले पनि अब गगनको समर्थन गरेर जानुपर्ने बताएका छन्। गगन विधिसम्मत तरिकाले सभापति चयन भएको तर्क गर्दै उनले विराटनगरमा सञ्चारकर्मीसँग भने, ‘आसन्न निर्वाचनपछि प्रधानमन्त्री बन्ने पालो गगन थापाकै हो। यसमा कुनै द्विविधा पाल्नुपर्दैन ।’
शेखर पक्षकै अर्का नेता प्रा डा गोविन्दराज पोखरेलले सामाजिक सञ्जालमा गगनलाई बधाई सन्देश नै जारी गरी निर्वाचन आयोगले वैधता प्रदान गरिसकेपछि यसमा थप विवाद गर्न नहुने धारणा राखेका छन्।
उनले भनेका छन्, ‘विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएसँगै गगनको नेतृत्वमा बनेको कार्यसमितिले अब नेपाली कांग्रेसको नेतृत्व गर्नेछ। गगनको टिमलाई कांग्रेस र नेपालको लोकतन्त्रलाई अझ गतिशील बनाउन सफलता मिलोस्। उहाँ र कार्यसमितिका सबै नेताहरूलाई बधाई तथा शुभकामना।’