प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ ।
मतगणनाको परिणामले रास्वपालाई प्रत्यक्षतर्फ १२५ सिट जित्ने र समानुपातिकतर्फ पनि ५० प्रतिशतभन्दा बढी सिट प्राप्त गर्ने स्पष्ट संकेत देखाएको छ । यस परिणामले रास्वपालाई प्रतिनिधि सभामा झण्डै दुई तिहाइ नजिकको शक्तिशाली दलको रूपमा स्थापित गरेको छ ।
निर्वाचनअघि नै रास्वपाले बालेन शाहको नेतृत्वमा सरकार गठन गर्ने घोषणा गरिसकेको छ । त्यसैले अब सबैको चासो बालेन कहिले बालुवाटार पुग्छन् भन्नेमा केन्द्रित भएको छ ।
अबको प्रक्रिया के हुन्छ ?
निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार पर्सि अर्थात् फागुन २७ गतेसम्म मतगणना सम्पन्न हुने अनुमान गरिएको छ ।
विगतका अभ्यास हेर्दा आयोगलाई समानुपातिक सिट बाँडफाँट गर्न त्यसपछि करिब दुई दिन लाग्ने गर्छ। त्यसअनुसार फागुन २९ गतेसम्म समानुपातिक सिटको प्रारम्भिक बाँडफाँट टुंगिने सम्भावना छ ।
त्यसपछि आयोगले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूलाई आफूले प्राप्त गर्ने सिट संख्या र समावेशी क्लस्टर निर्धारण गरी बन्दसूचीबाट विजयी उम्मेदवार चयन गर्न करिब तीन दिनको समय दिनेछ । सम्भवतः चैत २ गतेसम्म दलहरूले आफ्नो निर्णय आयोगमा बुझाउनेछन् ।
उक्त समयसीमाभित्र दलहरूबाट प्राप्त नामावली जाँच गरी आयोगले औपचारिक रूपमा समानुपातिक उम्मेदवारहरूलाई विजयी घोषणा गर्न तथा समग्र प्रतिवेदन तयार गर्न अर्काे करिब दुई दिन लाग्नेछ । यस हिसाबले छिटोमा चैत ५ गतेसम्म सबै परिणाम औपचारिक रूपमा सार्वजनिक हुने सम्भावना देखिन्छ ।
राष्ट्रपतिसमक्ष प्रतिवेदन
सबै प्रक्रिया पूरा भएपछि आयोगले प्रत्यक्ष र समानुपातिकतर्फबाट विजयी सदस्यहरूको नामावलीसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नेछ ।
प्रतिवेदन पेस भएसँगै प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुन्छ ।
संसदीय दलको नेता चयन
तर प्रधानमन्त्री नियुक्त हुनुअघि बहुमत प्राप्त दलले संविधान तथा रास्वपाको विधानअनुसार आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्छ । रास्वपाले यसअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने घोषणा गरिसकेकोले संसदीय दलको नेता पनि उनै बन्ने लगभग निश्चित मानिएको छ ।
तर, बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाको विधानमा पनि केही जटिलता देखिएका छन् । त्यसैले बालेनलाई रास्वपाले कसरी संसदीय दलको नेता चयन गर्छ भन्ने अझै अन्योलको विषय छ । यस विषयको विवादले पनि केही समय खपत गर्न सक्छ र सुशीला सरकारको आयु केही लम्बिन सक्ने देखिन्छ ।
बालेन कहिले बालुवाटार पस्लान्?
माथिका सबै प्रक्रिया समयमै सम्पन्न भएमा चैत १० देखि १२ गतेभित्र नयाँ सरकार गठन हुने सम्भावना बलियो देखिन्छ।
त्यस अवस्थामा बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएर उनी औपचारिक रूपमा बालुवाटार प्रवेश गर्न चैत दोस्रो साताको साइत जुर्ने देखिएको छ । यससँगै नेपालमा नयाँ राजनीतिक अध्याय सुरु हुने अपेक्षा गरिएको छ।
तर, रास्वपाभित्र विवाद लम्बिँदै गयो भने यो चैत महिनाभरि ‘आमा सरकार’ले देशको अभिभावकत्व लिइरहनुपर्ने हुन सक्छ ।