​काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबिच बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।

​भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, प्रधानमन्त्री शाहले नेपालमा आएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरेका छन्।

​भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए। सो क्रममा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायहरूबिच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए। राजदूत दलेलाले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरेका छन्।

​यसैगरी, भेटमा नेपाल र भारतबिचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र प्रगाढ बनाउँदै लैजाने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।