काठमाडौँ। ‘इन्जिन गाडीमा’, ‘आई लभ यू’, ‘प्रेमपत्र’, ‘डुब्न देऊ’ र ‘मैले जानीसकेँ’ जस्ता कालजयी गीतमार्फत नेपाली रोमान्टिक पपसंगीतमा छुट्टै पहिचान बनाएका गायक अनिल सिंहले आफ्नो गम्भीर स्वास्थ्य अवस्थाबारे भावुक खुलासा गरेका छन्। हाल सांगीतिक कार्यक्रमका सिलसिलामा अस्ट्रेलियामा रहेका सिंहले एक भिडियो सन्देश सार्वजनिक गर्दै नेपालका चिकित्सकले खुट्टा नै काट्नुपर्ने सल्लाह दिएपछि आफू अस्ट्रेलिया आइपुगेको बताएका हुन्।
भिडियो सन्देशमा गायक सिंहले अत्यधिक धूम्रपानका कारण आफ्नो खुट्टामा जटिल समस्या उत्पन्न भएको स्वीकार गरेका छन्। विगतमा आफूले दैनिक २ देखि ३ बट्टासम्म चुरोट पिउने गरेको स्मरण गर्दै उनले त्यसैको गम्भीर असर खुट्टामा देखिएको स्पष्ट पारेका छन्। यद्यपि, लामो समयदेखिको लत पूर्ण रूपमा त्याग्न नसके पनि हाल दैनिक १–२ वटा चुरोटमा सीमित गरेको उनले जानकारी दिएका छन्।
अस्ट्रेलिया आउने क्रममा भएको भिसा प्रक्रियालाई उनले चमत्कारका रूपमा वर्णन गरेका छन्। “बुधबार बायोमेट्रिक दिएको थिएँ, बिहीबार नै भिसा लाग्यो र बिहीबार नै भागेर अस्ट्रेलिया आइपुगेँ,” उनले भिडियोमा भनेका छन्। साथै, कठिन अवस्थामा आफ्नो उपचार र विशेष हेरचाह गरेको भन्दै उनले डाक्टर दिपेश शाक्यप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सन्देशको अन्त्यमा निकै भावुक बनेका गायक सिंहले आम दर्शक तथा प्रशंसकहरूलाई धूम्रपानको कुलत त्याग्न आग्रह गरेका छन्। आफ्नो जीवनमा अब कति समय बाँकी छ भन्ने अनिश्चित रहे पनि शरीरमा सास रहुन्जेल दर्शक–श्रोतामाझ संगीत बाँडिरहने र मनोरञ्जन दिइरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।