मस्को (रसिया)। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक स्वतन्त्रताबिना राष्ट्रिय सार्वभौमसत्ता अधुरो रहने बताएका छन्। रसियाको राजधानी मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै उनले विश्व इतिहास संवेदनशील मोडमा उभिएको र राष्ट्रिय सार्वभौमसत्तासँगै आर्थिक स्वाधीनता अपरिहार्य रहेको धारणा राखेका हुन्।
रसियाको सत्तासीन दल ‘युनाइटेड रसिया’ ले आयोजना गरेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत ७६ देशका ४८० प्रतिनिधिको सहभागिता रहेको थियो। सम्मेलनमा आयोजक दलका संयोजक भी. याकुसेभले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए। प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र नेपाली जनताको तर्फबाट आयोजकप्रति आभार प्रकट गरे।
सम्बोधनका क्रममा प्रचण्डले कुनै पनि राष्ट्र आफ्नै आर्थिक नीति र विकासका प्राथमिकता तय गर्न स्वतन्त्र नभएसम्म उसको राजनीतिक स्वतन्त्रता पूर्ण नहुने उल्लेख गरे। बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई रहेको बताउँदै उनले सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित बहुध्रुवीय विश्व व्यवस्था निर्माण हुनुपर्नेमा जोड दिए।
सीमित बाह्य वित्तीय केन्द्रमा मात्र भर पर्नुभन्दा दक्षिण–दक्षिण सहकार्यमार्फत व्यापार, लगानी र पूर्वाधार साझेदारी गरी अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको भनाइ थियो। साथै, विश्वव्यापी वित्तीय संस्थाहरू लोकतान्त्रिक र उत्तरदायी हुनुपर्ने बताउँदै उनले आर्थिक जोखिम घटाउन स्थानीय मुद्रामा व्यापार र वैकल्पिक वित्तीय प्रणालीको खोजी गर्नुपर्ने आवश्यकता औँल्याए। ‘ग्लोबल साउथ’ का मुलुकहरू कच्चा पदार्थको आपूर्तिकर्तामा मात्र सीमित नरही औद्योगिकीकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता बढाउनुपर्ने धारणा उनले राखे।
नेपालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको स्मरण गराउँदै प्रचण्डले नेपालको परराष्ट्र नीतिबारे स्पष्ट पारे। उनले भारत र चीनको बिचमा रहेको सार्वभौम, भूपरिवेष्ठित विकासोन्मुख देशका रूपमा नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए। उनले नेपालको भूगोल सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्ने तर भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल बन्न नहुने स्पष्ट सन्देश दिए।
रसियासँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धको कदर गर्दै उनले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सहकार्य थप सुदृढ गर्न चाहेको बताए। सम्बोधनको अन्त्यमा उनले कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहुन् र विकासको अधिकारबाट कोही वञ्चित नहुन् भन्दै स्वतन्त्रता, शान्ति र सामाजिक न्यायका लागि सङ्घर्षरत जनसमुदायप्रति ऐक्यबद्धता व्यक्त गरे।