टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व १४ नोभेम्बरदेखि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्हालेकी छन्। नेतृत्व सम्हालेसँगै नेपालका जलवायु प्राथमिकताका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा अघि बढाउने क्रममा उनले अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गरेकी छन्।

​भेटका क्रममा मन्त्री चौधरीले मुख्य तीनवटा विषयलाई प्राथमिकताका साथ उठान गरेकी छन्। उनले कोपको छलफलमा महासागरसम्बन्धी मुद्दालाई थप महत्त्व दिनुपर्ने तथा नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली मुद्दालाई प्राथमिकताका साथ अघि बढाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताइन्। साथै, कोप–३१ को अन्तिम निर्णय दस्तावेजमा समेत हिमालसम्बन्धी विषय स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा उनले विशेष जोड दिइन्।

​कोप सम्मेलनमा विभिन्न जलवायु मुद्दामाथि छलफल भइरहँदा ‘माउन्टेन एजेन्डा’ ओझेलमा पर्न नहुने मन्त्री चौधरीको भनाइ थियो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका गम्भीर चुनौतीहरूलाई कोपको छलफल तथा निर्णय प्रक्रियामा उचित प्राथमिकता दिनुपर्ने धारणा राख्दै उनले अन्तिम मस्यौदा दस्तावेजमा हिमालको मुद्दालाई समेट्न आग्रह गरिन्।

​मन्त्री चौधरीले उठाएका हिमाली र जलवायु न्यायसम्बन्धी विषयहरूमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।