काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सबाट खेलिरहेका तीन चर्चित विदेशी क्रिकेटरहरू डेविड मिलर, मार्क वाट र हुसैन तलातले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (एभरेस्ट बेस क्याम्प) को भ्रमण गरेका छन्। नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले कर्णाली याक्स व्यवस्थापनले यी खेलाडीहरूलाई शनिबार सगरमाथा आधार शिविर पुर्याएको हो।
भ्रमण टोलीमा दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेविड मिलर, स्कटल्यान्डका स्पिनर मार्क वाट र पाकिस्तानका अलराउन्डर हुसैन तलात सहभागी रहेका थिए। आधार शिविर पुगेका मिलर र वाटले हिउँमा रमाइलो गर्दै क्रिकेटसमेत खेलेका छन्। सर्वोच्च शिखरको काखमा पुगेपछि प्रतिक्रिया दिँदै मिलरले उक्त अनुभव निकै रमाइलो र जीवनकै अविस्मरणीय क्षण रहेको बताए।
कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्वस्तरीय खेलाडीहरूमार्फत नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सन्देश विश्वभर फैलाउन यो भ्रमण तय गरिएको जानकारी दिए। यसअघि एनपिएलकै अर्को टोली काठमाडौँ गोर्खाजमा आबद्ध अस्ट्रेलियन स्टार क्रिकेटर डेभिड वार्नरले पनि सगरमाथा आधार शिविरको भ्रमण गरेका थिए। एनपिएलमा आबद्ध विदेशी खेलाडीहरूको यस्ता भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास लिइएको छ।