टर्कीको अन्टाल्यामा जारी कोप–३१ सम्मेलनका अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई) का कार्यकारी निर्देशक सङ–ह्युप किमबिच द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपालका प्राथमिकता र आगामी दिनमा विस्तार गर्न सकिने सहकार्यका क्षेत्रहरूका विषयमा विस्तृत छलफल भएको हो।
भेटमा मन्त्री चौधरीले जिजिजिआई नेपालको एक विश्वसनीय विकास साझेदार रहेको उल्लेख गरिन्। उनले भनिन्, “जलवायुमैत्री कृषि, स्वच्छ यातायात, हरित वित्त तथा पारिस्थितिकीय प्रणालीको पुनर्स्थापनाका क्षेत्रमा जिजिजिआईले पुर्याउँदै आएको सहयोग महत्त्वपूर्ण छ।” यस सहयोगले दुई पक्षबिचको सम्बन्धलाई थप रणनीतिक र संस्थागत बनाएको बताउँदै उनले हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकहरूका लागि कोप–३१ जलवायु वित्तमा पर्याप्त पहुँच र लगानी सुनिश्चित गर्ने महत्त्वपूर्ण अवसर भएको धारणा राखिन्।
मन्त्री चौधरीले जिजिजिआईको सहयोगमा सञ्चालित जलवायुमैत्री कृषि परियोजनाले नेपालको कृषि क्षेत्र र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको बताइन्। साथै, जलवायुमैत्री खेती प्रणाली, मौसम मापन केन्द्रको स्थापना तथा दिगो कृषि मूल्य शृङ्खलाको विकासमार्फत जलवायु परिवर्तनबाट प्रभावित किसानहरूको अनुकूलन क्षमता बढाउन निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
जवाफमा जिजिजिआईका कार्यकारी निर्देशक किमले नेपालको हरित विकास र जलवायु अनुकूलनका प्रयासहरूमा सहकार्य गर्न आफू सकारात्मक रहेको बताएका छन्।