स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता टर्कीको अन्टाल्यामा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) तथा श्रीलङ्काको कोलम्बोमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का विभिन्न कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आज बिहान ११:४५ बजे श्रीलङ्कन एयरमार्फत स्वदेश फर्किएकी छन्।
कोप–३१ सम्मेलनका क्रममा मन्त्री मेहताले नेपाल पेभेलियनमा आयोजित “स्वास्थ्य नै जलवायु कार्यको मुटुमा: एक विश्वव्यापी दृष्टिकोण” विषयको प्यानल छलफलको अध्यक्षता गरेकी थिइन्। सो अवसरमा उनले जलवायु परिवर्तनलाई गम्भीर स्वास्थ्य सङ्कटका रूपमा ग्रहण गर्दै जलवायु कार्ययोजनाको मुख्य केन्द्रमा जनस्वास्थ्यलाई राख्न विश्व समुदायको ध्यानाकर्षण गराइन्। साथै, रसुवाको बाढीसहित हिमाली क्षेत्रका विपद्ले जनस्वास्थ्य र स्वास्थ्य सेवा प्रवाहमा पारेको असरबारे नेपालको अनुभव सुनाउँदै उनले अल्पविकसित राष्ट्रहरूलाई अनुदानमा आधारित जलवायु वित्तमा सहज पहुँच दिनुपर्ने माग राखिन्। सम्मेलनमा सहभागी नेपाली युवा तथा सङ्घसंस्थाका प्रतिनिधिहरूसँगको भेटमा उनले हरेक सत्रमा स्वास्थ्यका सवाललाई सक्रिय रूपमा उठाउन आग्रह गरेकी थिइन्।
यसैगरी, श्रीलङ्काको कोलम्बोमा आयोजित बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठक तथा अन्य कार्यक्रमहरूमा सहभागी हुँदै मन्त्री मेहताले सदस्य राष्ट्रहरूबिच क्षेत्रीय सहकार्य विस्तार, ज्ञान तथा अनुभव आदानप्रदान र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा जोड दिएकी छन्। बैठकमा साझा स्वास्थ्य चुनौतीहरूको पहिचान र समाधानका उपायबारे छलफल हुनुका साथै विभिन्न देशका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटघाटसमेत भएको छ। अन्तर्राष्ट्रिय र क्षेत्रीय दुवै मञ्चमा नेपालको स्वास्थ्य प्राथमिकता, खाद्य स्वच्छता र जलवायुजन्य स्वास्थ्य चुनौतीलाई सशक्त रूपमा उठाउन सफल भएकाले मन्त्री मेहताको यो भ्रमण अत्यन्तै फलदायी र उपलब्धिपूर्ण रहेको छ।