टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) का क्रममा आयोजित ‘पर्वतीय एजेन्डा प्रवर्द्धन’ विषयको उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री सिसिर खनालले हिमाल सङ्कटमा पर्नु भनेको सिङ्गो मानवता नै सङ्कटमा पर्नु भएको बताएका छन्। हजारौँ वर्ष लगाएर बनेका नेपालका हिमनदी र अग्ला हिमशिखरहरू एकै मानव जीवनकालमा बिलाउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

​सम्बोधनका क्रममा मन्त्री खनालले गत अगस्ट २६ मा नेपालले भोगेको विनाशकारी ‘हिमालयन सुनामी’ को भयावह प्रभाव स्मरण गराउँदै कोप–३१ सम्मेलन पर्वतीय उत्थानशीलतालाई जलवायु वार्ताको किनाराबाट विश्वव्यापी जलवायु कार्यको मुख्य केन्द्रमा स्थापित गर्ने निर्णायक मोड बन्नुपर्ने बताए।

​सो अवसरमा परराष्ट्रमन्त्री खनालले पर्वतीय क्षेत्रको सुरक्षाका लागि छ बुँदे मुख्य प्राथमिकता अघि सारेका छन्। जसमा १.५ डिग्री सेल्सियसको तापक्रम लक्ष्यअनुरूप हरितगृह ग्यास उत्सर्जनमा व्यापक कटौती गर्नुपर्ने, अनुकूलन र उत्थानशील पूर्वाधारका लागि ऋणको सट्टा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने तथा अग्रपङ्क्तिका हिमाली समुदायलाई हानि तथा नोक्सानी कोषबाट प्रत्यक्ष र शीघ्र राहत दिनुपर्ने विषय समेटिएका छन्। यसका साथै, उच्च हिमाली हिमनदी अनुगमन र भू-उपग्रह सञ्जालसहितको बलियो बहु-प्रकोप पूर्वसूचना प्रणाली निर्माण गर्न, राष्ट्रसङ्घीय जलवायु प्रक्रियाभित्र पर्वतीय जोखिमलाई राजनीतिक मान्यता दिन र ‘सगरमाथादेखि समुद्रसम्म’ को साझेदारी सुदृढ गर्दै प्रस्तावित ‘संयुक्त राष्ट्रसङ्घीय पर्वतीय उत्थानशीलता दशक’ लाई सफल बनाउन उनले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्।