काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज (कार्तिक ८ गते) काठमाडौँ फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड) आयोजना गरेको छ । वसन्तपुरबाट सुरु हुने दौड १० हजार मिटर दुरी पार गरिसकेपछि बसन्तपुरमै पुगेर समापन गरिनेछ । दौडका लागि १५२ जना महिला (२२%) र ५५२ जना पुरुष (७८%) गरी ७०४ जना धावकले नाम दर्ता गर्नुभएको थियो । नाम दर्ता गर्नेमध्ये तोकिएको अवधि भित्र नाम दर्ता गर्ने ५५० जनाका बिचमा प्रतिस्पर्धा हुनेछ । बाँकी १२४ जना दौडमा भाग लिन पाउनु हुनेछ । तर, प्रतियोगितामा नाम समावेश हुनेछैन ।
सम्पदा दौड कार्यक्रममा धावकहरुको प्रोत्साहनका लागि एथलेटिक्सतर्फ पारालिम्पिक अष्ट्रेलियन खेलाडी क्याट्रिना वेब सहभागी हुनुहुन्छ । वेबले एथलेटिक्सतर्फ लगातार तीनवटा प्यारालिम्पिक खेलकुदमा स्वर्ण, रजत र कास्य पदक जित्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय वक्ता, नेतृत्व तथा व्यक्तिगत निपुर्णता सम्बन्धी परामर्शदाता पनि हुनुहुन्छ । निरोगिता (वेलविइङ) र लचिलोपन (रिजिलियन्स) विषयको प्रशिक्षक र फिजियोथेरापिस्ट पनि हुनुहुन्छ । यसै गरी नेपाली धावक सन्तोषी श्रेष्ठ, हरिबहादुर रोकायालगायत खेलाडीहरुले धावकहरुलाई प्रोत्साहित गर्नुहुनेछ ।
सम्पदा दौड मार्गले महानगरपालिकाका वडा नं. १, ५, ७, ८, ९, ११, २२, २३, २४, २७, २८, २९ र ३० गरी १३ वटा वडा छुनेछ । दौड वसन्तपुरबाट विहान ०६ः०० बजे सुरु हुनेछ । वसन्तपुर डबलीबाट सुरु भएको दौड जुद्धशालिक वायाँ मोडिएर इन्द्रचोक पुग्नेछ । त्यसपछि असन, जमल, दरबार मार्ग महेन्द्र शालिकबाट नारायणहिटी संग्रहालयतर्फको सडकबाट नागपोखरी हुँदै नक्साल भगवती पुग्नेछ । त्यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फको सडकबाट टंगाल माध्यमिक विद्यालय हुँदै गहनापोखरीबाट नरःदे (हाँडीगाउँ) डबलीतर्फ जानेछ ।
डबलीबाट मालीगाउँ हुँदै दौड कालोपुल पुग्नेछ । कालोपुल उकालोबाट सिफल चौर, जयबागेश्वरी, गौशाला हुँदै रातोपुलतर्फ झर्नेछ । त्यहाँबाट अगाडि बढ्दा ज्ञानेश्वर नपुग्दै बायाँतर्फ मोडिएर मैतीदेवी जानेछ । डिल्लीबजारबाट अगाडि बढेपछि पुतली सडक चोकबाट बायाँ मोडिएर रामशाह पथ तर्फ जानेछ । पद्मोदय मोड पुगेपछि प्रदर्शनी मार्ग, भद्रकाली, सहिद गेट, धरहरा, खिचापोखरी, न्यूरोड हुँदै वसन्तपुर डवली पुग्नेछ ।
दौडका विजेता महिला र पुरुष दुवै समूहका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार रुपियाँ, ३० हजार रुपियाँ र २० हजार रुपियाँ नगद सहित पुरस्कृत गरिनेछ । दौड समापन गर्ने हरेक खेलाडीलाई मेडल प्रदान हुनेछ ।
यो दौड काठमाडौँ फिल्म फेस्टिभलको पूर्व सन्ध्यामा गर्न लागिएको हो । महानगरपालिकाको आयोजनामा कार्तिक १३, १४ र १५ गते काठमाडौँ फिल्म फेस्टिभल आयोजना हुँदैछ । फेस्टिभलमा युथ च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेशनल पानोरामा गरी ४० वटा चलचित्र, लघुचलचित्र र डकुमेन्ट्री प्रदर्शन गरिनेछन् । यस्तै रेड कार्पेट, मास्टर क्लास, प्यानल डिस्कसन, अवार्ड डिष्ट्रिब्युसन लगायत कार्यक्रम सञ्चालन हुनेछन् ।