काठमाडौँ। नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि फ्र्यान्चाइज टोली कर्णाली याक्सले दक्षिण अफ्रिकाका विश्वप्रसिद्ध तथा आक्रामक ब्याटर डेविड मिलरलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। क्रिकेट जगतमा ‘किलर मिलर’ को नामले परिचित बायाँहाते मध्यक्रमका ब्याटर मिलरको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ लाइनअप थप मजबुत बनेको छ।

​मिलरसँग विश्वभरका विभिन्न चर्चित टी-२० लिगहरू खेलेको फराकिलो अनुभव छ। इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबाट खेलिसकेका उनले दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेलमा २ शतक र ९ अर्धशतकसहित २,८०४ रन बनाएका छन्। साथै, उनी सन् २०२४ को टी-२० विश्वकप उपविजेता दक्षिण अफ्रिकी टोलीका प्रमुख सदस्य समेत हुन्।

​कर्णाली याक्समा आबद्ध हुने मिलर छैटौँ विदेशी खेलाडी हुन्। यसअघि कर्णालीले पाकिस्तानका टी-२० टोलीका कप्तान साहिबजादा फरहान, अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई टोलीमा भित्र्याइसकेको छ। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ।