इरानले अमेरिकासमक्ष सात दिनभित्र होर्मुजको सामुद्रधुनी पुनः खोल्ने र आणविक वार्ता सुरु गर्ने प्रस्ताव अघि सारेको छ। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानी विदेशमन्त्री अब्बास अराघ्चीले कतारलगायत मध्यस्थमार्फत वासिङ्टनसमक्ष प्रस्ताव पठाइएको जानकारी दिएका हुन्। उनका अनुसार अमेरिकाले इरानका सर्त स्वीकार गरेपछि सातदिने प्रक्रिया सुरु हुनेछ।
इरानको प्रस्तावअनुसार पहिलो चार–पाँच दिनभित्र अमेरिकाले आवश्यक प्रारम्भिक कदम चाल्नुपर्नेछ। त्यसमा इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीमा लगाइएका प्रतिबन्धमा छुट दिने तथा क्षेत्रीय युद्धविराम कायम गर्ने विषय छन्। युद्धविराममा लेबनानसमेत समेटिनुपर्ने इरानको माग छ।
योजनाको छैटौँ दिन होर्मुजको सामुद्रधुनी सामान्य समुद्री आवागमनका लागि खोल्ने र सातौँ दिन अमेरिका–इरानबीच आणविक कार्यक्रमसम्बन्धी औपचारिक वार्ता पुनः सुरु गर्ने प्रस्ताव गरिएको छ। अराघ्चीका अनुसार यो प्रस्ताव यसअघि जुनमा भएको समझदारीको आधारमा तयार गरिएको हो।
होर्मुज विश्वको अत्यन्त महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक भएकाले यसको अवरोधले तेल तथा ग्यास आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ। पछिल्लो प्रस्ताव सार्वजनिक भएपछि विश्व बजारमा तेलको मूल्यमा समेत उतारचढाव देखिएको छ।
तर तेहरानको प्रस्तावमा वासिङ्टनको अन्तिम सहमति जुटिसकेको छैन। अमेरिकी पक्षले मध्यस्थमार्फत सकारात्मक तथा रचनात्मक संवाद भइरहेको संकेत गरे पनि तत्काल सम्झौता गर्न हतार नगरेको बताइएको छ। यही कारण सातदिने योजनाको कार्यान्वयन अझै अमेरिकी निर्णयमा निर्भर छ।
अराघ्चीले अब निर्णय अमेरिकाको हातमा रहेको संकेत गर्दै वासिङ्टनले प्रस्ताव स्वीकार गरे सात दिनमै होर्मुज खुल्ने र आणविक वार्ता पुनः सुरु हुने बताएका छन्। यसले महिनौँदेखि जारी अमेरिका–इरान तनावबीच कूटनीतिक बाटो पुनः खुल्ने सम्भावनालाई चर्चामा ल्याएको छ।