काठमाडौं । काठमाडौंमा चार दिनदेखि जारी पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सिजन–२ दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानको ४टी ई–स्पोर्ट्सले जितेको छ। दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न रोमाञ्चक फाइनलमा ४टीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। प्रतियोगिता सेप्टेम्बर १६ देखि १९ सम्म सञ्चालन भएको थियो।

घरेलु मैदानमा नेपालका टोलीले पनि प्रभावशाली प्रदर्शन गरे। टी२के ई–स्पोर्ट्स दोस्रो, होरा ई–स्पोर्ट्स तेस्रो र एचएलएक्स चौथो स्थानमा रहे। शीर्ष तीनमा रहने टोलीले पाकिस्तानमा आयोजना हुने पब्जी मोबाइल ग्लोबल ओपन २०२६ सिजन–२ लागि छनोट हुने अवसर पाएका छन्।

प्रतियोगिताको समापन कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। नेपालमा आयोजना भएको यस अन्तर्राष्ट्रिय स्तरको पब्जी मोबाइल प्रतियोगिताले देशको ई–स्पोर्ट्स क्षेत्रप्रतिको बढ्दो आकर्षणलाई समेत देखाएको छ। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका १६ टोली सहभागी थिए।

यसैबीच, प्रतियोगिता आयोजकले रु. ३ लाख ५८ हजार ८८ रुपैयाँ सहयोगस्वरूप प्रदान गरेको छ। पब्जी मोबाइलको प्रतिस्पर्धालाई खेलकुद र ई–स्पोर्ट्सको दायरासँग जोड्दै नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनु नेपाली गेमिङ समुदायका लागि समेत महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।