वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई करिब २.८ अर्ब अमेरिकी डलर बराबरको भारी हतियार बिक्री अघि बढाउने तयारी गरेपछि वासिङ्टनदेखि मध्यपूर्वसम्म बहस चर्किएको छ। प्रस्तावित प्याकेजमा २ हजार पाउन्ड (करिब ९०७ किलो) तौलका ४० हजार बम समावेश छन्। सम्झौता अझै अन्तिम भएको छैन, तर अमेरिकी कांग्रेसका सम्बन्धित समितिलाई यसको अनौपचारिक जानकारी गराइसकिएको छ।
प्याकेजमा २० हजार एमके–८४ र २० हजार बीएलयू–११७ बमसँगै २० हजार आई–२००० पेनेट्रेटर वारहेड प्रस्ताव गरिएको छ। यीमध्ये केही हतियार जमिनमुनि वा कडा संरचनामा प्रहार गर्न डिजाइन गरिएका छन्।
यो बिक्रीको ठूलो हिस्सा फरेन मिलिटरी फाइनान्सिङ (एफएमएफ) मार्फत हुने भएकाले अमेरिकी सरकारी रकमबाट इजरायलले अमेरिकी हतियार खरिद गर्नेछ। यही कारण प्रस्तावले अमेरिकी कांग्रेसभित्र पनि राजनीतिक बहस जन्माएको छ। डेमोक्र्याटिक सिनेटर क्रिस भान होलेनले बिक्री रोक्न समर्थन जुटाउने बताएका छन्।
२ हजार पाउन्डका बम भने नयाँ विवाद होइनन्। २०२४ मा जो बाइडेन प्रशासनले गाजामा ठूलो नागरिक क्षति हुनसक्ने चिन्ताका कारण यस्ता बमको एउटा खेप रोकेको थियो, तर ट्रम्पले २०२५ जनवरीमा त्यो रोक हटाएका थिए। अहिले प्रस्तावित प्याकेजको आकार पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलोमध्ये रहेको रिपोर्ट छ।
गाजामा यस्ता भारी बमको प्रयोगले नागरिक क्षतिको प्रश्न उठाउँदै आएको अवस्थामा नयाँ हतियार प्याकेजले अमेरिकी–इजरायली सैन्य सम्बन्धमाथिको बहसलाई फेरि सतहमा ल्याएको छ। यद्यपि अमेरिकी प्रशासनले सबै विदेशी हतियार बिक्री निर्धारित प्रक्रियाबाट अघि बढिरहेको जनाएको छ।
२.८ अर्ब डलरको यो सम्झौता स्वीकृत भए पनि हजारौं बम तत्काल इजरायल पुग्ने छैनन्; यति ठूलो परिमाणको उत्पादन र आपूर्तिमा धेरै वर्ष लाग्ने अपेक्षा गरिएको छ।