काठमाडौं । काठमाडौंमा जारी पीएमजीओ सिजन–२ साउथ एसिया फाइनल्स २०२६ को पहिलो दिन पाकिस्तानको ४टी वालेले ७२ अंकसहित शीर्ष स्थानमा रहँदै प्रभावशाली सुरुवात गरेको छ। दशरथ रंगशालास्थित कभर्ड हलमा बुधबार सम्पन्न पहिलो दिनको खेलमा ४टीले २ वटा चिकेन डिनरसहित ४५ एलिमिनेसन अंक जोड्यो।

घरेलु टोली नेपालका लागि पनि पहिलो दिन उत्साहजनक रह्यो। टी२के ई–स्पोर्ट्स र होरा ई–स्पोर्ट्सले समान एक–एक चिकेन डिनर जित्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। टी२के ४३ अंकसहित चौथो र होरा ४२ अंकसहित पाँचौँ स्थानमा छन्। होराले २७ एलिमिनेसन अंक जोड्दा टी२केले २० एलिमिनेसन अंक बटुलेको छ।

पहिलो दिनको अंकतालिकामा बंगलादेशको ए१ आरजी ई–स्पोर्ट्स ५६ अंकसहित दोस्रो र म्याक्सेबेल्स ५३ अंकसहित तेस्रो स्थानमा छन्। नेपालकै टीजीबी ३० अंकसहित छैटौँ, ३१३ ई–स्पोर्ट्स २९ अंकसहित सातौँ र एलएफ २८ अंकसहित आठौँ स्थानमा छन्।

पहिलो दिनको प्रतिस्पर्धाले अंकतालिका निकै खुला राखेको छ। शीर्ष स्थानमा रहेको ४टी र चौथो स्थानको टी२केबीच २९ अंकको अन्तर रहे पनि बाँकी खेलमा केही उत्कृष्ट प्रदर्शनले टोलीहरूको स्थानमा ठूलो परिवर्तन ल्याउन सक्ने अवस्था छ।

प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेशराज पौडेलको समेत उपस्थिति रहेको थियो। नेपालमा अन्तर्राष्ट्रिय स्तरको ई–स्पोर्ट्स प्रतियोगिता आयोजना भइरहेका बेला मन्त्रीको उपस्थितिले कार्यक्रमलाई थप औपचारिकता दिएको छ।

कुल ४० हजार अमेरिकी डलर पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आयोजना हुने पीएमजीओ सिजन–२ ग्लोबल इभेन्टमा स्थान बनाउनेछन्। त्यसैले अबका तीन दिन प्रत्येक खेलसँगै अंकतालिका मात्र होइन, विश्वस्तरीय मञ्चमा पुग्ने टोलीको दौडसमेत रोचक बन्नेछ।

चार दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिनमै नेपाली टोलीले चिकेन डिनरसहित बलियो सुरुवात गरेपछि घरेलु दर्शकको नजर अब दोस्रो दिनको खेलमा केन्द्रित भएको छ।