काठमाडौं । नेपालमा पब्जी मोबाइल ई–स्पोर्ट्सको ठूलो अन्तर्राष्ट्रिय मञ्च आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ मा नेपाल, पाकिस्तान र बंगलादेशका १६ टोलीले चार दिनसम्म उपाधि, पुरस्कार राशि र विश्वस्तरीय प्रतियोगितामा स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता सेप्टेम्बर १६ देखि १९ अर्थात् भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सञ्चालन हुँदैछ।
यसपटक नेपालको घरेलु मैदानमा चार नेपाली टोलीले दक्षिण एसियाका शीर्ष टोलीसँग प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट होरा ई–स्पोर्ट्स, ट्रेन्ड टु किल (टी२के), हिडन लिफ ई–स्पोर्ट्स र द गेमिङ ब्रोज्किज मैदानमा छन्। पाकिस्तानबाट ४थ्राइभ्स ई–स्पोर्ट्स, म्याक्सेबेल्स, ३१३ ई–स्पोर्ट्स, एलएफ ई–स्पोर्ट्स, ट्रु ई–स्पोर्ट्स, एक्सजेनेरेसन, द मिथिकल्स र एक्सजोटिक ई–स्पोर्ट्स तथा बंगलादेशबाट एमआर ई–स्पोर्ट्स, सीएमएफ ई–स्पोर्ट्स, ए१ आरजी ई–स्पोर्ट्स र भेएके साइलेन्ट आर्मी सहभागी छन्।
प्रतियोगिताको कुल पुरस्कार राशि ४० हजार अमेरिकी डलर रहेको छ। शीर्ष तीनमा रहने टोलीले आगामी पीएमजीओ सिजन २ ग्लोबल इभेन्ट, जुन पाकिस्तानमा आयोजना हुने कार्यक्रमका लागि स्थान सुरक्षित गर्नेछन्। त्यसैले काठमाडौंमा हुने चार दिनको प्रतिस्पर्धा दक्षिण एसियाली टोलीका लागि केवल क्षेत्रीय उपाधिको दौड नभई अर्को ठूलो अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसरका रूपमा पनि हेरिएको छ।
प्रतियोगिताका खेलहरू प्रत्येक दिन नेपाली समयअनुसार साँझ करिब ४ः४५ बजेबाट सुरु हुने तालिका सार्वजनिक गरिएको छ। खेलहरू रोंडो, एरेन्गेल र मिरामारजस्ता चर्चित पब्जी मोबाइल म्यापमा हुनेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल ई–स्पोर्ट्स साउथ एसियाका डिजिटल प्लेटफर्मबाट पनि हेर्न सकिनेछ।
घरेलु दर्शकका लागि पनि प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर खुला गरिएको छ। आयोजक पक्षले ५०० दर्शकका लागि टिकट उपलब्ध गराएको छ भने एक टिकटको मूल्य ४५२ रुपैयाँ तोकिएको छ। प्रतियोगिताको आधिकारिक सामाजिक सञ्जालबाट टिकट बिक्री खुला गरिएको जानकारीसमेत सार्वजनिक गरिएको छ।
प्रतियोगिताले प्रतिस्पर्धासँगै दर्शकका लागि मनोरञ्जनको वातावरणसमेत तयार पार्ने भएको छ। मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंकले एक्स्ट्रिम एक्सपेरियन्स जोन, वाच पार्टी जोन, गेमिङ च्यालेन्ज तथा फोटो र कन्टेन्ट जोन सञ्चालन गर्नेछ। त्यहाँ विभिन्न गेमिङ गतिविधि, चुनौतीपूर्ण खेल र तत्काल उपहार वितरणलगायतका कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ।
नेपालमा पछिल्लो समय पब्जी मोबाइल ई–स्पोर्ट्सको लोकप्रियता तीव्र रूपमा बढिरहेको अवस्थामा दक्षिण एसियाकै ठूलो क्षेत्रीय प्रतियोगितामध्ये एक काठमाडौंमै आयोजना हुनुले नेपाली गेमिङ समुदायमा थप उत्साह ल्याएको छ। यसअघि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिसकेको होरा ई–स्पोर्ट्ससहित चार नेपाली टोलीले आफ्नै घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएकाले प्रतियोगिताले नेपाली दर्शकको विशेष ध्यान खिचेको छ।
अब चार दिनसम्म दशरथ रंगशालाको कभर्ड हलमा चल्ने प्रतिस्पर्धामा कसले दबाब थेग्दै निर्णायक खेलमा आफ्नो स्थान बनाउँछ भन्ने चासो छ। दक्षिण एसियाका १६ टोली, ४० हजार डलरको पुरस्कार र ग्लोबल इभेन्टमा पुग्ने अवसर काठमाडौंमा आजदेखि पब्जी मोबाइलको ठूलो भिडन्त सुरु हुँदैछ।